सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अव्यवस्थित तार र पोलहरूले सहरको सौन्दर्य घटाएको भन्दै ७ दिनभित्र यस्ता तार र पोलहरू हटाउन सुर्खेत प्रशासनले ‘अल्टिमेटम’ दिएको छ। इन्टरनेट, केबुल नेटवर्क, विद्युतका जमिनबाट कम उचाइमा रहेका, लत्रिएका, प्रयोग नभएका अनावश्यक तारहरू हटाउन र व्यवस्थित गर्न ‘अल्टिमेटम’ दिएको हो ।
प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैनिक जसो लोडसेडिङले गर्दा उपभोक्ताहरूले हैरानी खेप्नु परेको छ। पुराना कमजोर संरचनाले गर्दा हावा चले विद्युत् अवरुद्ध हुने परम्परा जस्तै बनेको छ । विगत ५ दिन यता कर्णालीका सबै जसो जिल्लामा पटक–पटक विद्युत् अवरुद्ध हुने गरेको छ । विद्युत् अनियमित हुँदा सेवा प्रवाहमा समेत समस्या भएको छ।
यसैलाई मध्यनजर गरी नेपाल टेलिकम र विद्युत् प्राधिकरणले प्रयोग नभएका, सडे गलेका र रिप्लेश गरी जमिनमै छाडिएका पोलहरूको समेत तत्काल उपयुक्त तरिकाले व्यवस्था गर्न निर्देशन गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
इन्टरनेट, केबुल नेटवर्कका सेवा प्रदायकहरूले नेपाल विद्युत् प्राधिकरण तथा नेपाल टेलिकमसँग समन्वयन नगरी पोलहरूमार्फत तारहरू जडान नगर्न आग्रह गरिएको छ।’
ए.के. सञ्चार । ३० भाद्र २०७८, बुधबार १५:५७