अर्कैको नाममा जग्गा नामसारी गर्ने १३ जनालाई जरिवानासहित कैदको फैसला

सुर्खेत । सुर्खेत जिल्ला अदालतले जग्गा धनीलाई थाहै नदिएर अर्कैको नाममा जग्गा नामसारी गर्ने १३ जनालाई दोषी ठहर गरि जरिवानासहित कैदको फैसला गरेको छ । अदालतका न्यायाधीस डा. राजेन्द्रकुमार आचार्यको एकल ईजलासले मालपोत कार्यालय सुर्खेतका ६ जना कर्मचारीसहित १३ जनालाई जग्गा किर्ते तथा ठगी गरेको कसुरसहित कैद र जरिवाना फैसला गरेको हो ।

वीरेन्द्रनगर–१२ नम्बर वडा कार्यालयका तत्कालिन वडाध्यक्ष रामकुमार दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई अदालतले किर्ते कसुर ठहर गरेको थियो । दुवै जनालाई नौ महिना कैद र १५ हजार जरिवाना फैसला भएको छ ।नक्कली जग्गाधनी बनाइएका वीरेन्द्रनगर–३ का सहवीर कार्कीलाई एक वर्ष कैद र २० हजार जरिवना गरिएको छ । तर उनी जेष्ठ नागरिक भएकाले जेष्ठ नागरिक ऐनअनुसार २५ प्रतिशत मात्रै कैद र जरिवाना फैसला गरिएको छ । छुटअनुसार उनले नौ महिना र १५ हजार जरिवाना तोकिएको छ । तर उनी मंगलबार नै रिहा भएका छन् ।

मालपोत कार्यालयका सुब्बा विश्वरुप सावत, कम्प्युटर शाखामा कार्यरत खरिदार गणेश विक, कृष्णबहादुर थापा, दिपेन्द्र श्रेष्ठ, सुनील राना र तिर्थराज महतारालाई एक वर्ष कैद र २० हजार जरिवाना फैसला गरेको अदालतका श्रेस्तेदार ठाकुरप्रसाद पौडेलले नेपालीरैबारलाई जानकारी दिए । तर रानाको निधन भइसकेको छ । उनको हकमा हकवालाले जरिवाना तिर्न नपर्ने फैसलामा उल्लेख छ ।