मुख्यमन्त्री शाहीद्वारा यातायात कार्यालयकाे आकस्मिक निरीक्षण

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यातायात ब्यवस्था कार्यालय सुर्खेतकाे आकस्मिक निरीक्षण गरेका छन् । साे क्रममा मुख्यमन्त्री शाहीले सेवाग्राहीसँग सेवा लिने क्रममा देखिएका समस्या र समाधानकाे उपायका बारेमा छलफल गरेका छन् ।

मुख्यमन्त्री शाहीसँग सेवाग्राहीहरूले अनुसूचि फारम कार्यालयले भर्न नदिएकाे, दलालमार्फत अनुसूचि फारम भर्दा १५ रूपैयाँ लाग्ने फारमलाई १०० रूपैयाँ लिने गरेकाे, पैसा तिर्नका लागि पनि घण्टाैंसम्म लाईनमा बस्नुपर्ने बाध्यता रहेकाे गुनासाे गरेका थिए ।

सेवाग्राहीका गुनासा सुनेपछि मुख्यमन्त्री शाहीले अनलाइनमार्फत शुल्क तिर्ने व्यवस्था तत्काल मिलाउन, आवश्यक जनशक्ति प्रदेश सरकारसँग माग गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए ।

उनले कार्यालय आफैले गर्न सक्ने न्युनितम कामहरू पनि नभएकाे भन्दै तत्काल सुधार र सेवाका कामहरूलाई अघि बढाउन निर्देशन दिएका हुन् । मुख्यमन्त्री शाहीले सेवाग्राहीका गुनासा सम्बाेधनका लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग पनि छलफल गरेका छन् ।

मुख्यमन्त्री शाहीले यातायात कार्यालय बाहिर अनुसूची फारम भर्ने प्रयाेजनका लागि खाेलिएका अबैध पसलहरू तत्काल बन्द गर्न, सवारी साधन र पार्किङकाे ब्यवस्था मिलाउन निर्देशन दिए । मुख्यमन्त्री शाहीकाे निर्देशन लगत्तै जिल्ला प्रशासन कार्यालयले यातायात कार्यालय बाहिरका पसलहरू तत्काल हटाउने र टाफिक ब्यवस्थापन मिलाउने प्रक्रिया सुरू गरिएकाे बताए ।