काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए ।
तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा सात हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ४० हजार २३९ छ ।
७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५५३ रहेको बोर्डले जनाएको छ । ‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ जीपीए ल्याएका छन् ।
तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ जीपीए ल्याएका छन् ।
बोर्डले एक जना परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै ११ हजार ४९० जनाको परीक्षाफल स्थगित गरेको जनाएको छ । कक्षा ११ को प्राप्ताङ्क नभएका र कक्षा १२ को आन्तरिक मूल्याङ्कनको अंक प्राप्त नभएका परीक्षार्थीहरुको सम्बन्धित विषयको परीक्षाफल स्थगित गरिएको बोर्डले जानकारी दिएको छ ।
आंशिकतर्फ ३१ हजार ५५ सहभागीमध्ये ८१।४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । २५ हजार २८८ जना उत्तीर्ण भएका छन् । त्यस्तैगरी ग्रेड वृद्धितर्फ ९१ ह्जार ९०० सहभागी मध्ये दुई हजार ८८२ परीक्षार्थीको परीक्षा स्थगित गरिएको छ । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।
नतिजा टेलिकमको वेवसाइटबाट हेर्न सकिनेछ ।
ए.के. सञ्चार । १७ मंसिर २०७८, शुक्रबार १३:१६