काठमाडौं । स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता गठबन्धनका नेताहरु सहमत भएका छन् । यस विषयमा थप गृहकार्य अर्को बैठक बस्ने नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो । छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको सन्चारकर्मीलाई जानकारी दिए ।
यस विषयमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने उनले बताए । बिहीबार नै मन्त्रिपरिषद्को नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने अनुमान छ ।
निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले ९ पुस, २०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तह निर्वाचनको तयारी थाल्न ध्यानाकर्षण गराएका थिए ।
ए.के. सञ्चार । ४ माघ २०७८, मंगलवार १२:१६