
सुर्खेत । १८ औं गणतन्त्र दिवसको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले शुभकामना सन्देश दिँदै जनताले हासिल गरेको लोकतान्त्रिक गणतन्त्रलाई अझ सबल, सुदृढ र दिगो बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिको सन्तुलित अगुवाइ अपरिहार्य रहेको बताएका छन्।
मुख्यमन्त्री कडेलले नेपाली जनताले आफ्नो अमूल्य बलिदान, त्याग र संघर्षमार्फत प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र आज संस्थागत हुने चरणमा पुगेको उल्लेख गर्दै यसलाई अझ परिपक्व बनाउन सबै पक्षको योगदानको प्रशंसा गरेका हुन्।
उनले लोकतान्त्रिक गणतन्त्रलाई जनताको केन्द्रमा राखेर जनताकै आकांक्षाअनुसार सञ्चालन गर्नु नै यसको बलियो आधार हुने स्पष्ट पारे।
सन्देशमा उनले लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको नेतृत्व गर्ने अग्रज, नागरिक समाज, राजनीतिक दल, कार्यकर्ता र सम्पूर्ण समुदायको योगदानको उच्च सम्मान व्यक्त गरेका छन्।
`व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तोक्ने प्रणालीलाई हटाएर समानताको नयाँ युग सुरू गर्नु हाम्रो गणतन्त्रको सबैभन्दा ठूलो विशेषता हो,` सन्देशमा भनिएको छ,`अब यस परिवर्तनलाई सामाजिक आयामसँग जोडेर मात्रै समुन्नत प्रणालीको विकास सम्भव छ।`

गणतन्त्रको यात्रामा देखा परेका कमजोरी र नागरिकको अपेक्षा पूरा नहुँदा आउने टिप्पणीलाई स्वाभाविक रूपमा स्वीकार्नुपर्ने मुख्यमन्त्री कडेलको भनाइ छ।
तर त्यस्ता कमीकमजोरीलाई व्यवस्थाको असफलतासँग जोड्दै गणतन्त्रप्रति प्रश्न उठाउने र पुरानै प्रणाली फर्काउने प्रयास कदापि स्वीकार्य नहुने उनको चेतावनी छ।
मुख्यमन्त्री कडेलले राष्ट्रको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउँदै सामाजिक न्याय सहितको समृद्ध राष्ट्र निर्माणमा सबै जुट्नुपर्ने पनि उल्लेख गरेका छन्।
उनले सम्पूर्ण नेपालीलाई १८ औं गणतन्त्र दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
