सुर्खेत । मुगुका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेपछि उनका आफन्तले पीडितलाई धम्की दिन थालेको पीडितको भनाइ छ । बलात्कार आरोपमा जेल परेका सांसद बानियाँलाई जिल्ला अदालत बाँकेले पाँच लाख धरौटीमा छुटाएपछि उनका आफन्तहरूले अहिले बयान फेर्न भन्दै दबाब र धम्की दिन थालेको पीडितको दुखेसो छ ।
पीडितका अनुसार धरौटीमा छुटिसकेपछि सामाजिक संजाल तथा टेलिफोनबाट बानियाँका आफन्तले बयान फेर्न दबाब दिने गरेका छन् । उनका आफन्त नरेन्द्रबहादुर रावलले सामाजिक सञ्जालमा बयान चेन्ज गर्न सकिन्छ कि हजुर के छ ? कुरो र कुलो जता लायो उतै जाने लेखेका छन् ।
१६ फागुनमा पक्राउ परेका बानियाँविरुद्ध एक महिलाले नेपालगञ्जको अप्सरा होटलमा जबर्जस्ती करणी गरेको उजुर दिएकी थिइन । यसपछि बानियाँ सांसदबाट निलम्बन भएका थिए । पीडित महिलाले उनलाई धरौटीमा रिहा गरेर अन्याय भएको बताएकी छन् । उनले एक त आफू अन्यायमा परेको र त्यसैमा बानियाँका आफन्तबाट दबाब आउन थालेकालेको बताइन् । जसले गर्दा आफुलाई झनै असुरक्षित महसुस भइरहेको उनको भनाई छ ।
अन्तिम फैसला नहुँदै संसद छिर्ने बानियाँको प्रयास प्रतिनिधि सभाका निलम्बित सांसद बानियाँ पदबहालीको निवेदनसहित एक महिनाअघि संसद् सचिवालय पुगेपछि संसद सचिवालयमा हलचल भएको थियो । बलात्कार आरोपमा थुना परेपछि पाँच लाख धरौटीमा छुटेका उनी पदबहालीको निवेदनसहित एक महिना अघि संसद सचिवालयमा पुगेका थिए ।सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार उनी सचिवालयमा निवेदन लिएर आएका थिए ।
ए.के. सञ्चार । २१ बैशाख २०७९, बुधबार १६:१४