काठमाडौ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् ।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। औपचारिकरूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नुअघि नै नेपालमा असार १५ गते दही चिउरा खाने संस्कृति प्राचीनकालदेखि नै रहिआएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।
ए.के. सञ्चार । १५ असार २०७९, बुधबार ०७:२८