जुम्लाका महिलालाई हरियो चुरा र मेहेन्दीले रङगाउँदै सन्राइज बैंक

जुम्ला । सन्राइज बैंक लिमिटेड शाखा जुम्लाले महिला लक्षित कार्यक्रम ल्याउन थालेको छ । बैंकले आफ्नो स्थापनाकालदेखि नै बचत खाता भएका र नभएका महिलालाई मध्यनजर गर्दै साउनको महिनामा हरिया चुरा र मेहेन्दीले हात रङग्याउने कार्य गर्दै आएको हो ।

साउन महिनामा हरियो चुरा र मेहेन्दी लगाउँदा पतिको दीर्घायु हुन्छ भन्ने मान्नेताले सबै महिला चुरा र मेहेन्दी लगाउने गर्छन् । हिन्दु धर्मको परम्परागत संस्कृति अनुसार चुरा, टीका, पोते नारीको सौन्दर्यको गहना मानिन्छ ।

ज्योतिष शास्त्र अनुसार हरियो रङ बुध ग्रहको प्रतीक हो । हरियो रङ लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुने धार्मिक विश्वास छ ।जुम्ला बजारमा रहेको सन्राइज बैंकको शाखाले साउनलाई लक्षित गर्दै महिलाका लागि चुरा र रङले रंग्याउने कार्य गरेको हो । बैंकको जुम्ला शाखा प्रबन्धक जीवन केसीले बैंकको केन्द्रीय नीति अनुसार प्रत्येक वर्ष साउनमा यस प्रकारको कार्यक्रम गरिँदै आएको बताए ।