हुम्लाको चंखेली–२ मा पुनः मतदान गर्न गठबन्धनको माग

हुम्ला। हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका–२ मा गठबन्धन दलले पुनः मतदानको माग गरेका छन् ।वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले धाँधली गरेर मतदातालाई मत हाल्नबाट वञ्चित गरेको बताउँदै गठबन्धन दलले निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनसँग पुनः मतदानको माग गरेका हुन् ।

संघीय सांसद छक्कबहादुर लामासहित हुम्ला जिल्लामा गठबन्धन आबद्ध दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन अधिकृतको कार्यालय निवेदन पेस गर्दै पुनः निर्वाचन गर्न माग गरेका छन् ।९०३ मतदाता रहेको महादेव मावि मतदान केन्द्रमा धाँधलीका कारण ३९० मतमात्र खसेले मतदाता मतदान गर्ने अधिकारबाट वञ्चित भएको सांसद लामाले बताए ।

शुक्रबार बेलुका गठबन्धन दलका अध्यक्षपदका साझा उम्मेदवार गोविन्द शाहीले धेरै मतदाता मतदान गर्नबाट वञ्चित भएकोले मतदान केन्द्रको मतदानकार्य रद्द गर्न निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पेस गरेका छन् । उनीहरूले अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार शाहीलाई कारबाही गर्न र छपन्न प्रतिशतभन्दा बढी मतदाताले मत खसाल्न नपाएकोले पुनः मतदान गर्न माग राखेको संघीय सांसद् लामाले बताए ।

निर्वाचनको दिन चंखेलीमा गठबन्धन दल र स्वतन्त्र उम्मेदवार प्यारी लाल शाही पक्षबीच झडप हुँदा मतदान सुरु भएको केही समयमा नै स्थगित भएको थियो । झडपमा मतदान अधिकृतसहित तीन जना घाइते भएका थिए । झडप नियन्त्रमा लिन प्रहरीले हवाई फायरसमेत गरेको थियो ।