काठमाडौं। संयुक्त राष्ट्रसंघको बुधबार बसेको ११औं आपत्कालिन विशेष सत्रमा नेपालले युक्रेनलाई साथदिँदै रुसका विरुद्ध उभिएको छ । ११औं आपत्कालिन विशेष सत्रको १३औैं र १४औं बैठकमा ‘युक्रेनको क्षेत्रीय अखण्डताः संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूको रक्षा’ प्रस्तावमा छलफल गरी मतदान गरिएको थियो ।
रुसले युक्रेनका डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिझ्झिया क्षेत्रहरूमा कथित जनमतसंग्रह गराई ती क्षेत्रलाई जर्बजस्ती आफ्नो भूमिमा गाभेपछि राष्ट्रसंघको महासभामा उक्त प्रस्तावमाथि छलफल र मतदान गरिएको थियो ।
महासभाले युक्रेनको डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिझ्झिया क्षेत्रहरूलाई रूसले गैरकानूनी रूपमा गाभ्ने प्रयासको निन्दा गरेको छ र युक्रेनको भूभागबाट आफ्ना सबै सैन्य बलहरू तुरुन्त फिर्ता गर्न माग समेत गरेको छ । महासभामा भएको उक्त निन्दा प्रस्तावको पक्षमा नेपालले मतदान गरेको हो । मतदानमा १४३ सदस्य राष्ट्रले प्रस्तावको पक्षमा मतदान गर्दै युक्रेनलाई साथ दिएका थिए ।
मतदानमा बेलारुस, उत्तर कोरिया, निकारागुवा, रुस र सिरिया गरी पाँच देशले प्रस्तवाको विपक्षमा मतदान गरेका थिए । बुधबार भएको मतदानमा नेपालका दुई ठूला छिमेकी भारत र चीनसहित ३५ राष्ट्र अनुपस्थित भएका थिए ।
ए.के. सञ्चार । २७ आश्विन २०७९, बिहीबार ११:०३