विश्वमा आपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको छ –बालकृष्ण खाण

काठमाडौं।विश्वमा बर्सेनि आपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । आज ६७ औं प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे गृहमन्त्री खाणले विश्वमा नै बर्सेनि आपराधिक घटना बढिरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताएका हुन ।

उनले विश्वमा अहिले नयाँ किसिमका विज्ञानका प्रविधिहरुको प्रयोग गरी आपराधिक गतिविधि हुन थालेको भन्दै विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर आपराधिक क्रियाकलापको नियन्त्रण गर्न जरुरी रहेको औंल्याएका छन् । नेपाल प्रहरीले पनि आपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको उनको भनाइ छ ।

गृहमन्त्री खाणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् । उनले नेपाल प्रहरीका जवानहरुको क्षमता विकास र सुविधा वृद्धिका लागि सरकारले प्रयत्न गरिरहेको पनि उल्लेख गरेका छन् ।