गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई जिताउने अभियानमा लाग्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन्। आज पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिट वितरणमा भेदभाव नहुने प्रष्ट पारेका हुन्।

उनले गठबन्धनलाई निरन्तरता दिने सहमति भइसकेकाले गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले ०७४ को निर्वाचनमा विपक्षी गठबन्धनका कारण आफूहरुले जित्न नसकेको स्मरण गर्दै अहिले गठबन्धनलाई निरन्तरता दिन चाहेको बताएका छन्।

उनले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिएको र पार्टी भित्र मजबुत एकता कायम गरेर चुनावमा जानुपर्ने बताएका छन् । आगामी दिनमा पनि कसैलाई काखा पाखा हुन नदिने उनले दाबी गरेका छन् । प्रधानमन्त्री देउवाले गठबन्धन छ भनेर ढुक्कसँग नबस्ने नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।