भेरीको पानी वीरेन्द्रनगर ल्याउन ‘ड्रिम’ प्रोजेक्ट

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी समेत हो । यहाँ कर्णाली प्रदेशका १० वटै जिल्लाका नागरिकको बसोबास रहेको छ । उच्च शिक्षा अध्ययनका लागि वा सेवा सुविधाका लागि कर्णालीका हिमाली जिल्लासँगै अन्य जिल्लाका मानिसहरु वीरेन्द्रनगरमा बस्ने गरेका छन् । पछिल्लो समय वीरेन्द्रनगरमा मानिसहरुको बसोबास बाक्लिदै गएपछि सबै भन्दा धेरै पानीको समस्या उतपन्न हुन थालेको छ ।

हाल वीरेन्द्रनगरमा स्थायी र अस्थायी गरि करिब ५ लाख मानसिहरुको बसोबास रहेको छ । वीरेन्द्रनगरकावासीलाई खाने पानीको आपुर्ति गर्न भेरीको पानी वीरेन्द्रनगर उपत्यका ल्यानका लागि ‘ड्रिम’ प्रोजेक्टको आयोजना सुरु भएको छ । भेरी लिफ्ङ्गि खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । सङ्घीयता कार्यान्वयनमा आएपछि खानेपानीको क्षेत्रमा सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीमा बन्न लागेको भेरी लिफ्टिङ्ग खानेपानी आयोजनाको ‘डिजाइन रिभ्यु’ सम्पन्न भएसँगै ठेक्का प्रक्रियामा जान लागेको हो ।

प्रदेशकै ठुलो नगरपालिकाको रुपमा रहेको वीरेन्द्रनगरमा आगामी ३० वर्षको अवधिमा बृद्धि हुनसक्ने जनसंख्यालाई दिर्घकालिन खानेपानीको सहज आपूर्ति पु¥याउने लक्ष्यका साथ निर्माण गर्न लागिएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माथि विज्ञहरूबाट पुनः परामर्श लिने पक्रिया सम्पन्न भएको छ ।

ठूलो लगानीको आयोजना भएकाले बीचमा कुनै कारण डिजाइन फेल नहोस् भन्ने हेतुले पुनः परामर्शको लागि आयोजना कार्यान्वयनको जिम्मा पाएको खानेपानी तथा ढल व्यवस्थापन विभागले विज्ञहरुको राय मागेको थियो । दुई खण्डमा गरी ६ अर्ब रुपैयाँ लागतमा सम्पन्न हुने यस आयोजनाको यसअघि नै तयार भइसकेको डीपीआरमाथि ‘रिभ्यु’ गर्न विभागले थप गरेको समय समयावधी समाप्त भएसँगै आयोजना कार्यान्वयन चरणमा जान लागेको हो । जसका लागि बजेटको सुनिश्चितता समेत भइसकेको छ ।

कसरी ल्याइदैँछ पानी ?

संघीय खानेपानी मन्त्रालयले विश्व बैङ्कको ऋण सहयोगमा आर्थिक वर्ष २०७९/८० देखि सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा एकसय मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर नगरपालिकामा ल्याइने छ ।

जसअनुसार सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार, सम्बन्धित स्थानीय तहले २० प्रतिशत लगानी जुटाउनु पर्नेहुन्छ । कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचअल फण्ड’ अन्तर्गत प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/०८० मा ५ करोड रुपैयाँ विनियोजन गरेको छ  भने नगरपालिकाले आयोजना स्थलसम्म पहुँचमार्ग विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख बजेटको व्यवस्था गरेको छ ।

दिगो तथा सुधारिएको खानेपानी आपूर्ति र सरसफाइ सेवा उपलब्ध गराउनुका साथै सेवा प्रवाहमा स्थानीय क्षमतामा अभिवृद्धि गर्ने लक्ष्य राखेको आयोजनाबाट भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किलोमिटर दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर–११ को अमृतडाँडामा पानी ल्याइनेछ । पहिलो चरणका कामहरूमा पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिव १० मिटर गहिरो इन्टेक निर्माण गरिनेछ । जसमा २ वटा इन्टेक रहने छन् । २ मध्ये एकले कुनै कारण काम गर्न छाडे वा सरसफाई गर्नु परे सप्लाईमा कुनै बाधा हुने छैन् ।

त्यस पश्चात इन्टेकदेखि करिव चार सय मिटरको दुरीमा पानी प्रशोधन प्रणाली निर्माण, पाइप लाइन विस्तारसँगै अमृत डाडाँमा रिजर्भ ट्याङ्की निर्माण हुनेछन । यस्तै पहिलो चरणकै काममा ट्याङ्कीदेखि वीरेन्द्रनगरसम्म मुख्य पानी प्रसारणलाइन विस्तार हुनेछ ।

यस्तै, दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार गर्ने योजना छ । वितरण प्रणाली तथा डिस्ट्रिक मिटर्ड एरिया (डीएमए)को बाँकी काम हुनेछ । पहिलो र दोस्रो चरणका लागि करिब ३/३ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । भेरीको पानी ४०० मिटर उचाइमा प्रशोधन ट्याङ्कीमा खसालिने छ । त्यसपश्चात करिब सात किलोमिटर लामो पाइपका माध्ययमबाट अमृतडाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी हालिने छ  । ५५० मिलिमिटर क्षमताको पाइप अमृतडाँडामा राखेर मुख्य ट्याङ्कीसम्म विस्तार गरिनेछ  । अमृतडाँडामा बनाइने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ ।

निर्माण सुरु भएको ६ वर्षभित्रमा भेरी नदीको पानी उपत्यकामा आइपुग्ने छ । वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण दिनानु दिन खानेपानी समस्या चुलिँदो छ । हाल दैनिक ३२० लिटर प्रतिसेकण्ड पानीको माग भए पनि आपूर्ति भने प्रतिसेकेन्ड १५३ लिटर भइरहेको छ । खानेपानी आपूर्ति तथा व्यवस्थापनको जिम्मा पाएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले माग र आपूर्तिको सन्तुलन मिलाउन आलोपालो प्रणाली लागू गर्दै आएको छ । तर, मागबमोजिमको पानी उपलब्ध गराउन भने सकेको छैन ।

हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको संस्थाले १८ हजारबढी घरधुरीलाई खानेपानी दिन सकेको छैन । हाल संस्थाले झुप्राखोला, खरी खोला, खोर्के खोला, इत्राम खोलाबाट खानेपानी वितरण गरिरहेको छ ।

वीरेन्द्रनगरमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि स्रोतको खोजीसहित विभिन्न अध्ययन गरिएको थियो । जसमध्ये भेरी नदीको पानी उपत्यकामा ल्याउने विकल्प उत्तम भएको नगर प्रमुख मोहनमाया ढकाल बताउँछिन ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटा अहिलेको संरचनाले नगरमा पानीको माग पूरा गर्न नसकिने भन्दै आयोजना निर्माणमा ढिलाइ गर्न नहुने बताउँछन् । आयोजनाकै लागि बर्सेनि बजेट फिर्ता हुने गरेको उल्लेख गर्दै देवकोटाले भने, ‘उपभोक्ताहरू अझै आयोजना बन्नेमा विश्वस्त हुन सकेका छैनन्, समयमै आयोजना सम्पन्न गरी वीरेन्द्रनगरमा बढ्दै गएको खानेपानी समस्याको दिर्घकालीन समाधान हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’