निषेधाज्ञा खुकुलो बनाउँदै लगिएपछि सुरू भए शैक्षिक गतिविधि

 

सुर्खेत ।  कोरोना भाइरस ९कोभिड–१९० रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा सबैतिर खुकुलो बनाउँदै लगिएपछि शैक्षिक गतिविधि सञ्चालन हुन थालेका छन् । कोरोना महामारीले लामो समय ठप्प रहेका विद्यालयहरू सञ्चालन हुन थालेका हुन् । यसपटक विद्यालय तहको नयाँ शैक्षिक सत्र दुई महिना ढिलागरी सुरू गरिएको थियो । विद्यालयहरूले यहीँ असार १ गतेदेखि भर्ना अभियान सुरू गरेका थिए । कोरोना महामारीले निकै प्रभावित बनेको शैक्षिक क्षेत्र विस्तारै लयमा फर्कन थालेको हो । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्थानीय तहको समन्वयमा विद्यालयहरूले आफ्नो ठाउँको परिस्थिति हेरेर शैक्षिक गतिविधि अघि बढाएका छन् ।

यतिबेला कर्णालीका सबैजसो जिल्लामा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गर्ने काम भइरहेको छ । शिक्षा विभागले असार १ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा विद्यार्थी भर्ना गरेर पाठ्यपुस्तक वितरण गर्न भनेको थियो । विभागले पुनः छुटेकालाई यो महिनाभरी भर्ना लिन सकिने भनेपछि अहिले पनि विद्यालयहरूले भर्ना अभियानलाई नै निरन्तरता दिएका छन् । यो बेला विद्यालययहरूले एसईईको लागि विद्यार्थी मूल्याङ्कनको काम पनि भइरहेको जनाएका छन् । अधिकांश विद्यालयहरूले पठनपाठन भने सुरू गरेका छैनन् । कोरोना संक्रमणको जोखिम घट्दै गएकाले विद्यार्थी भर्ना सकेर साउन १ गतेदेखि प्रदेशका अधिकांश विद्यालयले पठनपाठन सञ्चालन गर्ने तयारी गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरस्थित अमरज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले स्वास्थ्य सुरक्षाका विधि अपाउँदै विद्यार्थी भर्ना र पाठ्यपुस्तक उपलब्ध गराउने काम भइरहेको जनाए । ‘प्रवेश परीक्षा भौतिक दूरी कायम गरेर लिएका छौं । अहिले विद्यार्थी भर्ना भइरहेकाले केही दिनपछि मात्र पठनपाठन सुरू गर्ने तयारी छ,’ उनले भने । अमरज्योतिले अनलाइन र विद्यालयमै उपस्थित गराएर दुवै माध्यमबाट पढाउने तयारी गरेको छ । आलोपालोमा सीमित विद्यार्थी बोलाएर विद्यालयमै पठनपाठन गर्ने वातावरण मिलाइएको जनाइएको छ ।

यस्तै, वीरेन्द्रनगरकै श्री कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयले पनि भर्ना अभियान चलिरहेको बताएको छ । प्रधानाध्यापक यामलाल घिमिरेले विद्यार्थीहरू सुर्खेतभन्दा बाहिर रहेकाले भर्नाका लागि आउने क्रम जारी रहेको बताए ।

डोल्पाका विद्यालयहरू भर्ना अभियान चलिरहेको त्यहाँस्थित शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरणलगायतका कामहरू भइरहेका हुन् । डोल्पामा साउन १ गतेदेखि पढाइ सुरू गर्ने तयारीमा रहेको इकाईका प्रमुख दलबहादुर बस्नेतले जानकारी दिए । यस्तै, हुम्लामा कक्षाको आन्तरिक मूल्याङ्कन सकेर विद्यार्थीहरूको भर्ना लिन थालिएको छ । यहाँ सबै ठाउँमा पाठ्यपुस्तक भने नपुगेको जनाइएको छ । शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका प्रमुख विष्णुबहादुर शाहीले पाठ्पुस्तकका लागि सहजीकरण भइरहेको जनाए । ‘केही विद्यालयमा पाठ्यपुस्तक आइसकेको छैन । त्यसका लागि पहल गरिरहेका छौं,’ उनले भने, ‘भर्ना सकेर साउन १ देखि पठनपाठन सुरू हुनेछ ।’ स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालयमै पढाउने तयारी गरिएको उनको भनाइ छ ।

यसैगरी, जाजरकोटमा विद्यार्थी भर्नासँगै केही विद्यालयहरूले पढाइ पनि सुरू गरिसकेका छन् । त्यहाँका विद्यालयहरूले अनलाइनमार्फत पढाउन थालेका हुन् । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रमेश मल्लले भर्ना अभियानसँगै कतिपय विद्यालयमा पठनपाठन हुन थालेको बताए । उनकाअनुसार जिल्लामा कोरोना संक्रमणको जोखिम कम भएपछि विद्यार्थी भर्ना, पाठ्पुस्तक वितरण र पठनपाठन थालिएको हो । खासगरी साउनको पहिलो सातादेखि सबै विद्यालय सञ्चालन गर्ने तयारी रहेको इकाई प्रमुख मल्लले जनाए । त्यसका लागि इकाईले अहिले स्थानीय तहहरूलाई सहजीकरण गर्ने काम गरिएको छ ।

अहिले विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई छ । सम्बन्धित गाउँ तथा नगरपालिकाले जोखिमको ख्याल गर्दै विद्यालयहरू सञ्चालन गर्न थालेका छन् । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह र विद्यालयको समन्वयमा शैक्षिक गतिविधि सुरू गर्न थालिएको हो । शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख भोजराज न्यौपानेले केही विद्यालयहरूले अनलाइनमार्फत पठनपाठन अघि बढाइसकेको जनाए । ‘पहिलो चरणको भर्ना सकिएको छ । छुटेकालाई पनि भर्ना गर्न समय थप भएको छ । यो खबर साझा बिसौनी दैनिकमा मुना हमालले लेखेकी छन ।