चाट व्यवसायबाट सन्तुष्ट छन् रघु

सुर्खेत । कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजारको घण्टाघर नजिकै साँझपख चाट खानेको घुइँचो लाग्ने गर्छ । सुर्खेतको चाट भनेपछि हुरुक्कै हुन्छन् । जिल्लाभन्दा बाहिरबाट आउनेहरू सुर्खेतको चाट भन्ने बित्तिकै लोभिन गरेको बताउँछन् ।

दिउँसो वीरेन्द्रनगर बजारमा छरपस्ट रहेका चाटका ठेलाहरू साँझ ५ बजेपछि घण्टाघर नजिकै जम्मा हुन्छन् । दिउँसो अरू खाजा खाए पनि साँझ चाट, खास्ता र पानी पुरी नखाए मनै मान्दैनन् भन्छन्, ग्राहकहरू । यहाँ लामो समयदेखि चाट पसल सञ्चालन गरिरहेका रघु उतिकै चर्चित छन् । अन्यको ठेलामा भन्दा रघुको ठेलामा चाट खानेको लस्कर हुन्छ ।

रघु दाइको चाट पसल भनेपछि युवायुवतीको निकै भिड हुने गरेको छ । २०४७ सालमा सुर्खेतमा आएका रघु गुप्ताको कथा अरूभन्दा फरक छ । आफ्नो बुवासँग व्यापारको सिलसिलामा भारतको बहराइजबाट रघु सुर्खेतमा आएको ३२ वर्ष पुग्यो । १० वर्षको उमेरमा सुर्खेत आएका रघु अहिले ४१ वर्षका भए । बुवाले गरेको चाट पसलमा रघुले सघाउने गर्थे । घरको आर्थिक स्थिति कमजोर भएका कारणले पढ्न नपाएको गुनासो गर्छ, रघु । उनी घरको जेठो छोरा हुन ।

‘जिम्मेवारी सबै मेरो टाउकोमा थियो । ५ कक्षासम्म मात्रै पढ्न पाए’, उनी भन्छन्, ‘भारतमा चेलीबेटीको धूमधाम बिहे गर्दिने गर्छन् । माइतीसँग सम्पत्ति नभए ऋण गरेर भएपनि कन्यादान दिने प्रचलन रहेको छ । त्यही प्रचलनले गर्दा पनि मेरो सपनामा ब्रेक लागेको थियो ।’

सुर्खेतीलाई चाट चखाएका रघुका बुवाले सुर्खेतको जिल्ला हुलाक कार्यालय छेउमा ठेला राखेर व्यापार गरेका थिए । रघुका चार बहिनी दुई दाजुभाइ र आमा बुवाको जिम्मेवारी सानैमा भोगेको हुनाले रघुले पनि चाट व्यवसायमा गर्नमा तल्लीन भए ।

आमा बुवाको देहान्त भएपछि रघुले चाट व्यवसायबाट नै कमाएको आम्दानीले चार बहिनीको धूमधाम सँग बिहे गरिदिए । उक्त व्यवसायले रघु सन्तुष्ट छन् ।

छोरा छोरीलाई पढाउने, घर खर्च सबै यही व्यवसायबाट हुँदै आएको उनी बताउँछन् । तर दुखको कुरा आर्थिक मन्दीका कारण रघुको चार्ट व्यापारमा पनि हानी पुगेको छ । जसरी विगतका दिनमा चाट व्यापार हुन्थ्यो त्यसरी नै अहिले नभएको बताउँछन् रघु ।

त्यो बेलामा २ र ५ रुपैयाँ प्रतिप्लेट चाट बेचेका रघुले हाल ५० रुपैयाँ प्रतिप्लेटका दरले बेच्दै आएका छन् । हाल दिनमा २५ सय रुपैयाँको व्यापार गर्दै आएका रघु छोरालाई यही कमाइबाट बोडिङ्ग स्कुल पढाउँछन् ।

बुवाको साथमा सुर्खेत आएका रघुको नेपालमा नागरिकता छैन । नेपालमा बस्ने मन हुँदा पनि नागरिकता पाउन सकेनन् ।

रघु भन्छन्, ‘म सुर्खेत आउँदा वीरेन्द्रनगर बजारमा ४५ हजार रुपैयाँ मिटर जग्गा पाउँथ्यो । दिमाग थियो, नागरिकता थिएन कसको नाममा पास गर्ने । छोरोलाई स्कुल पढाउँदा पनि नागरिकता जन्म दर्ता माग्छन् । रघुको भारतमा पनि रासन कार्ड, आधार कार्ड बनेको छैन ।’

पछिल्लो समयमा चाट व्यापारीहरूलाई नगरपालिकाले लखेट्ने गरेको छ । सामान जफत गरेपछि ५ सय रुपैयाँ जरिवाना तिरेर ल्याउने गरेको उनी बताउँछन् ।