२०८२ कात्तिक २३ , आइतबार

सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर




काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका तत्कालीन मेयर, तत्कालिन दुईजना प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगले नगरपालिकाका तत्कालीन मेयर उपेन्द्रबहादुर थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पितृभक्त गिरी र हरिप्रसाद देवकोटा, लेखा अधिकृत मोहनबहादर बुढा, लेखापाल लक्ष्मीप्रसाद अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । थापा नेपाली कांग्रेस कर्णाली प्रदेशका सहमहामन्त्रीसमेत हुन् ।

सुर्खेतको भेरीगंगा नगरपालिका, पञ्‍चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकाको कृषि र पशु शाखाबाट सम्पादन हुँदै आएका कामको डुप्लिकेसन गरी नमूना समाज, सुर्खेतले पञ्चपुरी नगरपालिकासमेतबाट प्राप्त रकम आफ्नो लगानीको कुनै स्रोत नदेखाई तथा कामै नगरी भुक्तानी लिई हिनामिना गरेको ठहरसहित मुद्दा दायर गरेको हो ।

नमूना समाज, सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जीएम भन्ने लालबहादुर घर्ती मगर र समाजकै अध्यक्ष भूमिसरा पुलामीमाथि पनि भ्रष्टाचारको अभियोग छ ।

अनुसन्धानका क्रममा पञ्चपुरी नगरपालिका सुर्खेतले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमूना गाउँ निर्माण कार्यक्रम संचालनको लागि नमूना समाज सुर्खेतसँग सम्झौता भई रकम भुक्तानी गर्दा भ्रष्टचारजन्य कार्य गरेको र उक्त कार्यमा संलग्न ती व्यक्ति र संस्थालाई सम्बन्धित कसुरअनुसार सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव भोला दाहालले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ चैत २१ गते मंगलबार