वीरेन्द्रनगर नगरपालिकाको एकीकृत भवनको शिलान्यास

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित र सहज बनाउन नगरपालिकाको बहु–प्रतिष्ठित एकीकृत भवनको शिलान्यास गरिएको छ ।

नेकपा एमालेका इन्चार्ज एवम् कर्णाली प्रदेश सभा सदस्य यामलाल कँडेल, नगर–प्रमुख मोहनमाया ढकाल र निवर्तमान नगर–प्रमुख देवकुमार सुवेदीले सामूहिक रुपमा नगरपालिकाको भवन शिलान्यास गरेका हुन् ।

हाल नगरपालिका भवनबाट सेवा प्रवाहमा असहजता भएपछि नयाँ भवन सिलान्यास गरिएको छ । १० करोड ७१ लाख लागत लाग्ने अनुमान गरिएको भवनमा लिफ्टसहित पाँच तलाको रहने छन् । नयाँ बन्न लागेको भवन लिफ्टसहित अपाङ्गमैत्री हुने नगरपालिकाले जनाएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख मोहनमाया ढकालले संविधानले स्थानीय तहलाई सेवा प्रवाह गर्ने निकायका रुपमा परिभाषित गरेको उल्लेख गरिन् । उनले सेवाग्राहीको बढ्दो चापले हाल सञ्चालनमा रहेको भवनबाट सेवा दिन अफ्ठ्यारोस्थिति सिर्जना भएपछि नगरपालिकाले नयाँ भवन निर्माण गर्न लागेको जानकारी दिइन् ।

संविधानमा प्रदत्त नागरिकको मौलिक हकको रक्षा गर्दै नागरिकसँग जोडिएर काम गर्नु स्थानीय तहको दायित्व रहेको भन्दै नागरिकलाई थप गुणस्तरीय सेवा प्रवाहमा विस्तार गर्नकै लागि भवन बनाउन लागिएको उल्लेख गरिन । नगरको समग्र विकास र समृद्धिका लागि नगरवासी लगायत सम्वद्ध सबै निकायसँग हातेमालो गर्दै समन्वयमा अगाडि बढ्न चाहेको नगरप्रमुख ढकालको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य यामलाल कँडेलले चुनावमा फरक खालका प्रतिवद्धता भएपनि समृद्ध नगरका लागि ती सबै साझा प्रतिवद्धता भएको बताए । सेवा सहजताका लागि निर्माण गर्न लागिएको भवन तोकिएकै समयमा निर्माण सम्पन्न गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । २७ महिनामा सम्पन्न गरिसक्ने गरी निर्माण कम्पनी नेपाल पब्लिक सर्मिला जेभीले निर्माणको जिम्मा लिएको छ ।