कालिकोटमा जिप दुर्घटना हुँदा श्रीमान श्रीमतीकाे मृत्यु, एक घाइते

सुर्खेत । कालिकोटकाे रास्काेट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्युु भएको छ । रास्काेट नगरपालिका-२ सेरा बजारमा राेकेर राखिएको जिप दुर्घटना भएको हाे ।

ग ३ च ४६१० नम्बरको जिप एक्कासि ब्याक भई सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी जाेरा सिंह माझीले जानकारी दिए ।

दुर्घटनामा रास्कोट नगरपालिका-१ का ४३ वर्षीय माेनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको भने २२ वर्षीया रिता शाही गम्भीर घाइते रहेकाे उनले जानकारी दिए ।

उनका अनुसार रिता गर्भवती रहेकाे र  रितालाई थप उपचारका लागि हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएकाे छ ।

जिप सेरा बजारबाट कालिकोट सदरमुकाम मान्मतर्फ जाने क्रममा जिप न्युट्रलमा राखेर चालक गाडी बाहिर रहेको अवस्थामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी माझीकाे भनाइ छ । चालकलाई नियन्त्रण लिइएको छ ।