सुर्खेत । घरको ऋण शिरमा बोकेर विदेशको सपना देख्दै काठमाडौं गएका दैलेख महाबु गाउँपालिका २३ वर्षे सुजन राउतको ललितपुरको बालकुमारी घटनामा सदाको लागि अस्ताएका छन् । उनको ललितपुरको किस्ट अस्पतालमा उपचारको क्रममा निधन भयो ।
सुजन आज बालकुमारीमा भएको प्रदर्शनमा सहभागी हुन पुगेका थिए । तर उनको प्रहरीको लाठी लागेर मृत्यु भयो ।
उनी दैलेख जिल्ला महाबु गाउँपालिका–६ रानिवनका बुवा भक्त बहादुर राउत र आमा नन्दकुमारी कटुवाल राउतका जेठा छोरा हुन् । उनी २ महिनादेखि काठमाडौँ बसेर इपीएस परीक्षाको तयारी गरिरहेका थिए ।
गत वर्ष मात्रै बाबुको ब्रेन ट्युमरका कारण मृत्यु भएपछि सुजनमाथि घर चलाउने दायित्व थपिएको थियो । एक वर्ष अगाडि उनका बाबु भक्तबहादुर राउतको ब्रेन ट्युमरका कारण मृत्यु भएको थियो ।
केही बर्ष अगाडि दैलेख बजारमा भाडा व्यवसाय गर्दै आएका राउत परिवारको व्यवसाय राम्रो चलेको थियो । रावत उद्योग वाणिज्य संघ दैलेखको उपाध्यक्षसमेत भएका थिए । उनी दैलेख बजारमा एक सफल व्यवसायीका रुपमा परिचत थिए । पछि उनलाई ब्रेन ट्युमरका भयो । बिरामीबाट थलिएका रावतको व्यवसाय पनि थलिदै गयो ।
उपचारका लागि भएको सबै सम्पत्ति पनि सकियो । उनलाई बचाउनका लागि उनका परिवार र आफन्तले जति प्रयास गरे पनि उनलाई बचाउन सकेनन् । उनी गत बर्षको मंसिर ११ गते उपचारकै क्रममा निधन भयो ।
बुवाले गरिरहको व्यवसाय चौपटमा परेको थियो । बुवाको निधनका कारण घरमा सुजन माथि आर्थिक भार परेको थियो । त्यहि कारणले पनि उनी रोजगारीका लागि कोरिया जाने तयारी गरेका थिए ।
अनन्त उनी कोरिया जान पाएनन् । घरमा छोराको भविष्यको सपना देखिरहेको सुजनकी विधुवा आमाका सपना चक्नाचुर भएका छन् । आमाले थप जिम्मेवारीको भारी बोकाएर सदाका लागि बिदा भए ।
सुजनको शव बुझ्न उनका मामा टेकबहादुर कटुवाल दैलेखबाट काठमाडौं हिडेको सुजनको मामाको छोरी ज्योति कटुवालले जानकारी दिइन् ।
सुजनको मृत्युको खबरले कर्णाली सहित महाबु गाउँपालिकाको रानिवन गाउँ यतिबेला स्तब्ध बनेको छ । सुजनको घरमा आमा, एक भाई र दिदि छन् ।
ए.के. सञ्चार । १३ पुष २०८०, शुक्रबार २१:०५