धुम्रपान तथा सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न सराेकारवालाकाे जाेड

सुर्खेत । धुम्रपान तथा सूर्तीजन्य पदार्थ नियन्त्रण नियमन गर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् ।

साेमबार वीरेन्द्रनगर सुर्खेतमा आउटरिच मिडियाले आयोजना गरेको धुम्रपान तथा सूर्तीजन्य पदार्थ नियन्त्रण नियमन सम्बन्धि सराेकारवालाहरुसँग अन्तक्रिर्या कार्यक्रमका सहभागीहरुले धुम्रपान तथा सूर्तीजन्य पदार्थ नियन्त्रण नियमन गर्न सबै पक्ष लाग्नुपर्ने बताएका हुन् ।

धुम्रपान तथा सूर्तीजन्य राेगका कारण नेपालमा बर्षेनी २७ हजार १३७ जनाको मृत्यु हुने गरेकाले यसको नियन्त्रण र राेकथामका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा उपस्थित भएकाहरुले धुम्रपान तथा सूर्तीजन्य पदार्थ नियन्त्रण गर्ने ऐन बने पनि कार्यान्वयन भने साेचे जतिकाे हुन् नसकेकोमा चिन्ता व्यक्त गरेका थिए ।

आउटरीच मिडियाको संस्थापक कल्पना आचार्यले नेपालमा प्रत्येक वर्ष २७ हजार १३७ जना मानिसको मृत्यु धुम्रपान तथा सूर्तीजन्य पदार्थका कारणले हुने गरेकाे जानकारी दिएकी दिइन् ।

नेपालमा २८ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्य रहेको उनले जानकारी दिइन् । जसमा ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिला रहेको आचार्यले बताइन् । उनले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने विश्वका मानिसमध्ये ९० प्रतिशत विकासोन्मुख मुलुकका नागरिक रहेको जानकारी दिइन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पाैडेलले धुम्रपान तथा सूर्तीजन्य पदार्थ नियन्त्रण नियमनमा सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताए ।

उनले सुर्तीजन्य पदार्थको कर र मूल्य बढाउन सके केही हदसम्म नियन्त्रण गर्न सकिने भनाइ राखेका थिए । धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रणको प्रयास यस अघि गरिएको भए पनि निरन्तरता दिन नसकिएको उनले भने,`धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न प्रशासनकाे तर्फबाट लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टिकाराम शर्माले सबैको सहकार्यमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न सकिने बताए ।

याे जनताको स्वास्थ्यसँग सम्बन्धित विषय हो वडा अध्यक्ष शर्माले भने,`यसकाे नियन्त्रणमा सबैले आ-आफ्ना घरका बालबालिकालाई कुलत सम्बन्धि सचेतनामूलक जानकारी दिन आवश्यक छ । वीरेन्द्रनगर नगरपालिकाले यस बिषयलाई प्राथमिकतामा राखेर अगाडि बढेकाे छ । अझै यसकाे राेकथाममा मिडियाकाे ठुलाे भूमिका रहन्छ । पछिल्लो समय धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नेकाे संख्या डर लाग्दाे परिस्थिति छ ।`

साथै, जनस्वास्थ्य कार्यालयका प्रमुख गणेशभक्त गाैतमले जनचेतनामूलक कार्यक्रमका लागि बजेट कम हुने गरेकाे बताएका छन् । हाल जनस्वास्थ्य कार्यालय खाेपमा केन्द्रित रहेकाे प्रमुख गाैतमले जानकारी दिए ।