सुर्खेत । कालीकोट जिल्ला अस्पतालको नवनिर्मित ५० शय्याको सुविधा सम्पन्न भवनबाट सेवा सुरु भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार अस्पतालको भवनको औपचारिक उद्घाटन गर्दै आवश्यक उपकरण र विशेषज्ञ चिकित्सकको व्यवस्थाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएका छन्।
अस्पतालले लामो समयदेखि साँगुरो टिनको टहरामा औषधि र चिकित्सकको अभावको बीचमा सेवा दिँदै आएको थियो। नयाँ भवन निर्माणसँगै अब टिनको टहरामुक्त बनेको अस्पतालले गुणस्तरीय सेवा दिन अपेक्षा गरिएको छ। मुख्यमन्त्री कँडेलले उद्घाटन समारोहमा गुणस्तरमुखी सेवामा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै दक्ष जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनको प्रतिबद्धता व्यक्त गरे।
जिल्ला स्वास्थ्य प्रमुख डा. भिष्म पोख्रेलका अनुसार अब अस्पतालले सुविधायुक्त भवनबाट बिरामीलाई सेवा दिन सहज हुने अपेक्षा गरिएको छ, तर दक्ष जनशक्ति र थप उपकरणको आवश्यकता रहेको पनि उनले बताए। यसैगरी, उद्घाटन कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम घण्डारीले पनि औषधि, उपकरण र विशेषज्ञ चिकित्सकको आवश्यकता पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिए।
उद्घाटन समारोहमा कर्णाली प्रदेश उपसभामुख यशाेदा न्यौपाने, प्रदेश सभा सदस्य हिक्मत विष्ट, दुर्गबहादुर रावत, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
ए.के. सञ्चार । ३ मंसिर २०८१, सोमबार १७:२६