सुर्खेत । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–२ मा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्।
मङ्गलबार बिहान ३२ वर्षीया दिपा कुमालले घरायसी विवादका क्रममा ४० वर्षीय श्रीमान मधु कुमालको टाउकोमा चिर्पटले प्रहार गरेर हत्या गरेकी हुन्।
मृतकका १६ वर्षीय छोरा खिम कुमालले घटनाको जानकारी प्रहरीलाई दिएका थिए, जसको आधारमा जिल्ला प्रहरी कार्यालय, रुकुमपश्चिमबाट प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले आरोपी दिपा कुमाललाई नियन्त्रणमा लिएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा घटनाको कारण घरेलु विवाद भएको निष्कर्ष निकालेको छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको छ।
ए.के. सञ्चार । ४ मंसिर २०८१, मंगलवार ११:३६