बर्दिया l बर्दियाको ठाकुरबाबा नगरपालिकामा पाटे बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । मुक्तिपुर सामुदायिक वन किनारको चरिचरण क्षेत्रको चौरमा बाख्रा चराउन गएकी ठाकुरबाबा नगरपालिका ७ कि महिलाको पाटे बाघको आक्रमणबाट ज्यान गएको हो ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ शुन्दरपुर गाउँकी ४० वर्षिया पदमकला थापाको पाटे बाघको आक्रमणबाट ज्यान गएको ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कलम विष्टले जानकारी दिए ।
ठाकुरबाबा नगरपालिकाका मेयर तिकराम लम्सालले बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी नेपाली सेना, नेपाल प्रहरी र स्थानीय सहितको टोलि लिएर बाघले आक्रमण गरेको ठाउँदेखि झन्डै ७ मिटर भित्र गएर शव ल्याएको वडा अध्यक्ष विष्टले बताए ।
पाटे बाघले आक्रमण गरी घिसार्दै लैजाने क्रममा ओराही खोला नजिकबाट टोलीले शव ल्याएका हुन् । शव पोष्टमार्टमका लागि सदरमुकाम गुलरिया लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । बकुवा नजिक मुक्तिपुर सामुदायिक वन किनारको चरिचरण क्षेत्र चौरमा बाख्रा चराउने क्रममा आज दिउँसो पाटे बाघले उनलाई आक्रमण गरेको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा। अशोक रामका अनुसार बाघ नियन्त्रणमा लिन सामुदायिक वनमा हात्ती सहित प्राविधिक टोली खटिसकेको छ । ढाट लगायतको अन्य प्रविधिको प्रयोगबाट नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।
यस आर्थिक वर्षको अवधिमा अहिलेसम्म बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रमा पाटे बाघको आक्रमण परि २ जनाको ज्यान गएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले जानकारी दिए । गएको भदौ महिनामा पाटे बाघको आक्रमणबाट बाँसगढिमा एक महिलाको ज्यान गएको थियो । यस्तै गैँडा र हात्तीको आक्रमणबाट यस आर्थिक वर्षमा २ जनाको ज्यान गएको छ ।
पछिल्लो समय पाटेबाघले घाँस दाउरा लिन गएका तथा सामुदायिक वन किनारका स्थानीयलाई आक्रमण गर्नुका साथै गाउँमै पसेर पनि पाटेबाघले स्थानीयको ज्यान लिने गरेको छ ।
ए.के. सञ्चार । २८ पुष २०८१, आईतवार २०:५५