कालीकोटलाई प्रदेशकै तेस्रो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा



कालीकोट। कालीकोटलाई कर्णाली प्रदेशकै तेस्रो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तह जेठभित्र पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेसँगै जिल्लालाई पनि घोषणा गरिएको हो ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ उक्त घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समिति सदस्यसचिव तथा स्वास्थ्य सेवा कार्यालयका प्रमुख व्यवस्थापक डा। रत्नवीर सुनारले सबै स्वास्थ्यकर्मी तथा आमनागरिकको प्रयासले सफल भएको बताए ।

जिल्लाभरका जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकाले नौ वटा, गर्भवतीका लागि एउटा र किशोरीका लागि एउटा गरी ११ वटा खोप पाएको सुनिश्चित गरिएपछि जिल्ला घोषणा गरिएको उनले बताए। जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले बालबालिकाको जीवन बचाउन खोपलाई कालीकोटका महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय तहको योगदानले पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सफल भएको जानकारी दिए ।

जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लिखित खोप लगाइसक्नु पर्छ । कुनै कारणले छुटेका १६ देखि ५९ महिनाका बालबालिकालाई स्वास्थ्य शाखामार्फत खोज र खोप अभियानमार्फत सबै खोपको मात्रा पूरा गराएपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका खोप फोकल पर्सन कटकबहादुर महतले कालीकोटका सबै बालबालिकाले पूर्ण खोप पाएको जानकारी दिए।

कर्णाली प्रदेश खोप समन्वय समितिका जनस्वास्थ्य अधिकृत ओमप्रसाद पौडेलले माघ, फागुन र चैतमा घरधुरी सर्वेक्षण गरेर वैशाखलाई खोप महिनाका रूपमा खोप अभियान सञ्चालन गरिएको जानकारी दिँदै छुटेका बालबालिकालाई जेठमा खोप दिएर वडा, पालिका, जिल्ला हुँदै प्रदेशलाई पूर्ण खोपयुक्त बनाउने तयारी गरिएको बताए ।

प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार