हुम्लामा प्रहरीद्धारा सचेतना अभियान सञ्चालन



हुम्ला। लामो र छोटो दुरीमा यात्रा गर्ने यात्रुलाई प्रहरीले सुरक्षित यात्राबारे सचेतना दिने काम सुरु गरेको छ । हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको अहिलेको समयमा यात्रुको सुरक्षित यात्राका लागि यात्रु पनि चनाखो रहन प्रहरीले सचेतना अभियान सञ्चालन गरेको हो ।

हाल सदरमुकाम सिमकोटबाट सुर्खेत, नेपालगन्ज र काठमाडौँसम्मका लागि दैनिक दुई वटा बस सञ्चालन भइरहेका छन् । हरेक दिन प्रत्येक बसका यात्रुलाई प्रहरीले सुरक्षित यात्राबारे जानकारी गराउने गरेको छ । प्रहरीको यो सकारात्मक र सहयोगात्मक कार्यको यात्रुले पनि प्रशंसा गरेका छन् ।

सदरमुकाम सिमकोटबाट जिल्लाभित्र र जिल्लाबाहिर यात्रा गर्ने यात्रुलाई सुरक्षित यात्राका लागि यातायातका साधनमै प्रहरी प्रवेश गरेर जनचेतना फैलाएको हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले

बताउनुभयो । हुम्लामा यातायातका साधन भर्खर सञ्चालनमा आएका कारण धेरै यात्रुलाई आफ्नो सुरक्षित यात्राबारे जानकारी नभएको र केही यात्रुले दुःख पाएको गुनासो आउन थालेपछि यात्रुलाई सचेत गराउन थालेको उहाँले बताउनुभयो । प्रहरीले कानुनी व्यवस्थादेखि व्यावहारिक पक्षबारे सचेतना दिएको छ लामो यात्रा गर्दा यात्रु र चालक सजह रहन सानो जानकारीले पनि सहयोग पुग्ने प्रहरी कार्यालयको विश्वास छ ।

सदरमुकाम सुर्खेतदेखि काठमाडौँ पुग्न करिब तीन दिनसम्म लाग्न सक्ने हुनाले सुरक्षित यात्राबारे जानकारी गराउँदा सम्भावित आपत्विपत् र नराम्रा घटनामा सचेत हुन सकिने भन्दै यात्रीले पनि आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८३ असार १४ गते आइतबार