कालीकोट। कर्णाली राजमार्गका सडक निर्माण गर्न सम्झौता गरी काम नगरेर बर्सौंदेखि अलपत्र पारिएका १६ वटा रुग्ण ठेक्का सडक डिभिजन कार्यालयले एकसाथ तोड्ने प्रक्रिया सुरु गरेको छ । जुम्लास्थित कार्यालयले कालीकोट, जुम्ला र मुगुमा सञ्चालित १६ वटा ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्यका लागि १५ दिने सूचना प्रकाशित गरेको छ ।
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहले ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ मा सम्झौता भएका तर काम नगरेका कालीकोटका १२, जुम्लाका तीन र मुगुका एक वटा रहेको बताउनुभयो । ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न कार्यालय लागिपरेको छ ।
विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदासमेत निर्माण व्यवसायीबाट निर्माण सम्पन्नतर्फ कुनै चासो नदेखाएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताउनुभयो । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (२) र सम्झौतामा भएको व्यवस्थाबमोजिम व्यवसायीबाट कार्य सम्पन्न हुने परिस्थिति नदेखिएकाले ऐनको दफा ५९ (७) का आधारमा ठेक्का अन्त्य गरिएको जनाएको छ ।
ठेक्का तोडिएका सेरी–पन्ताडी कालीकोट जिल्लामा बेलिब्रिज निर्माण तथा जडान कार्य, राजमार्गका विभिन्न खण्डको मर्मतसम्भार कार्यको जिम्मा लिएको हिमाली निर्माण सेवा, जुम्ला, एमकेरअमित जेभी, जुम्ला, एमके अमित जेभी जुम्ला छन् ।
यस्तै ठेक्का नं. ४ को कर्णाली राजमार्ग अन्तर्गत सिम्लेखोला पुल संरक्षणको जिम्मा लिएको कर्णाली कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ, कालीकोट, ठेक्का नं. ५ को कर्णाली राजमार्ग अन्तर्गत खल्लाघाट पुल संरक्षण कार्यको जिम्मा लिएको कर्णाली कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कालीकोट छन् । यस कम्पनीले ठेक्का नं. ६ को कर्णाली राजमार्ग अन्तर्गत चिदेनाखोला पुल संरक्षणको पनि जिम्मा लिएको थियो । कर्णाली राजमार्ग (नाग्मा–जुम्ला खण्ड) को कालोपत्रे सडकका लागि नारायण निर्माण सेवा जुम्लाले ठेक्का लिएको थियो ।
दहीखोला–मान्मा–नाग्मा खण्ड कालोपत्रेको जिम्मा लिएको एमकेरअमितरआरएनबी जेभी, कालोपत्रे सडक (दहीखोला–सेरीघाट खण्ड) एमकेरअमित जेभी जुम्लालगायतले ठेक्का लिएर काम नगरी बसेका थिए । अब ठेक्का तोडिएपछि पुनः बोलपत्र आह्वान गर्ने र काम सुरु गर्ने कार्यालयको योजना रहेको छ ।









