सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच आज भर्चुअल छलफल सम्पन्न भएको छ। छलफलमा कर्णाली प्रदेश सरकारका तर्फबाट कर्णालीका समसामयिक विकास निर्माणका विषयमा प्रमुख एजेन्डा प्रस्तुत गरियो हाे ।
कर्णाली प्रदेश सरकारका तर्फबाट छलफलमा सहभागी मुख्यमन्त्रीले विकास, सार्वजनिक सेवा प्रवाह, सुशासनका अवस्था तथा कर्णालीका प्रमुख अवरोधबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। जाजरकोट भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको ढिलाइ, कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन विस्तारका अवरोध तथा समाधानका उपायबारे छलफल भएको छ।
त्यस्तै, कर्णाली करिडोर, कर्णाली राजमार्ग, भेरी करिडोरको स्तरोन्नति तथा बजेट अभावका कारण अवरुद्ध विकास निर्माणका विषय उठाइएका छन्। पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत जाजरकोट खण्डको मान्साभिर सडक तथा भेरी नदीमा पुल निर्माणलाई तीव्रता दिनुपर्ने माग गरिएको छ।
छलफलमा दसौं राष्ट्रिय खेलकुदको आयोजनाका लागि संघीय सरकारले चाँडो निर्णय गर्नुपर्ने, सुर्खेत विमानस्थलको स्तरोन्नति तथा विस्तारमा आवश्यक पहल गर्नुपर्ने विषय उठाइयो।

यसैगरी, वातावरणीय प्रभाव मूल्यांकन (EIA) र रुख कटानमा देखिएको ढिलाइका कारण बड्डीचौर-खम्बागाढे, तेलपानी-भुरीगाउँ सडक लगायतका आयोजनामा समस्या भइरहेको उल्लेख गर्दै, अलपत्र बनेको रानीघाट पुल निर्माण अघि बढाउन आग्रह गरिएको छ।
प्रदेश तथा स्थानीय तहले निर्माण गर्ने सडक तथा अन्य पूर्वाधारका लागि वन क्षेत्रको भोगाधिकार शुल्क हटाउनुपर्ने माग पनि उठाइयो थियोे।
संघीय सरकारले ठेक्का लगाएका भेरी-बबई डाइभर्सन लगायतका परियोजनाको काम समयमा सम्पन्न गर्नुपर्ने विषयसमेत छलफलको प्राथमिकतामा राखिएको थियो।
भर्चुअल छलफलमा संघीय सरकार र प्रदेश सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

ए.के. सञ्चार । २५ माघ २०८१, शुक्रबार २२:१९