काडमाडौ l अपराध गरेर सम्पत्ति जोडेको र त्यसको व्यवस्थापन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ ।
विभागको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । आरोपपत्रमा बम्जनमाथि आठ करोड २७ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको उल्लेख छ ।
बारा रतनपुरीका ३४ वर्षीय बम्जनमाथि बाल यौन शोषण र व्यक्तिलाई बेपत्ता पारेको अभियोग छ । त्यही अभियोगको अनुसन्धानका क्रममा उनी २४ पुस, २०८० मा पक्राउ परेका थिए । १४ भदौ २०८१ मा जिल्ला अदालत सर्लाहीले उनीमाथि बाल यौन दुराचारको आरोपमा १० वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो ।
उनीमाथि सिन्धुपाल्चोक र नुवाकोटस्थित आश्रमबाट व्यक्ति बेपत्ता पारेको आरोप पनि छ । तर उक्त आरोपमा दुवै जिल्ला अदालतले उनलाई सफाइ दिएको छ । उनी पक्राउ परेपछि प्रहरीले काठमाडौं बुढानिलकण्ठस्थित निवासमा छापा मारेर नगद तथा अरु सामग्री बरामद गरेको थियो ।

आफ्नो साथमा बरामद भएको ७ करोड ९३ लाख रुपैयाँ रकम भक्तहरूले दिएको दक्षिणा भनेका छन् । उनले बयानमा भनेका छन्, ‘सो रकम कुनै कागज प्रमाण सहित प्राप्त भएको हैन । धार्मिक आस्था राख्ने अनुयायीहरूले दिएका हुन् । दान लिँदा कुनै रसिद काटेर लिने गरेको थिएन ।’
उनको निवासबाट टोयटा हाइलक्स, टोयटा फर्चुनर, मोटरसाइकल तथा स्कुटर बरामद भएका थिए । उनले आफूलाई भेट्न आउने अनुयायीहरूले सवारीसाधन छाडेर गएको भन्दै ती आफ्ना नभएको जिकिर गरेका थिए । उनले टोयटा ल्याण्डक्रुजर खरिद गर्न आफ्ना अनुयायीमार्फत ४ करोड ८९ लाख जम्मा गरेको भेटियो । त्यहाँ बरामद भएको नेपाली तथा विदेशी नगद, धनमाल अपराधबाट आर्जन नगरेको उनको जिकिर थियो । उनले बयानमा भनेका थिए, ‘मेरो संघ भक्त अनुयायीहरू आउँदा दर्शन गर्ने क्रममा दान दक्षिणा दिँदा जम्मा भएको रकम हो ।’ उनले चितवन लगायतका ठाँउमा जग्गा खरिद गरेको भेटियो । आफू लगानी नगरेको, भक्त र अनुयायीले आश्रम(काजुक्पा) बनाउन खरिद गरिदिएको भन्दै उनले वैदेशिक मुद्रासमेत संकलन गरेका थिए ।
उनीमाथि विदेशी विनिमय अपचलनको आरोपमा समेत छुट्टै अनुसन्धान भइरहेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अपराध गरेर आठ करोड २७ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेको अभियोग लगाएको छ । बाल यौन दुराचार गरेको भन्ने उनीमाथिको आरोप सर्लाही जिल्ला अदालतबाट स्थापित भएकाले नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यहाँ मुद्दा दायर गरेको हो ।

ए.के. सञ्चार । ७ फाल्गुन २०८१, बुधबार १८:०७