सुर्खेत। नेपाली सेनाको श्री काली बहादुर गणद्वारा शनिबार बराहताल गाउँपालिका–२, रानिघाट सिकारवासमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको सम्पन्न भएको छ।
स्वास्थ्य सेवामा पहुँचबाट बञ्चित नागरिकलाई लक्षित गरी आयोजना गरिएको शिविरमा ठूलो संख्यामा नागरिकहरूको सेवा लिएका छन्।
स्वास्थ्य शिविर कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय (स्वास्थ्य महाशाखा), कर्णाली प्रदेश अस्पताल, सुर्खेत आँखा अस्पताल, र श्री ज्योति फाउण्डेशनको सहकार्यमा सम्पन्न भएको हो।
यस अवसरमा स्थानीयवासीलाई विभिन्न प्रकारका स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिएको थियो।
शिविरमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ललितजंग शाही, बालरोग विशेषज्ञ डा. त्रिभुवन भट्टराई, सेनाका सहसेनानी डा. सचित थापा र अभिनाष बस्नेतले सेवा दिएका थिए।
यस्तै, शिविरमा सुर्खेत आँखा अस्पतालका निर्देशक डा. मन्जु पन्त र नेत्र सहायक बविता पुनले आँखासम्बन्धी उपचार सेवा प्रदान गरेका थिए।
शिविरमा आएका बिरामीहरूको उपचारका लागि आवश्यक औषधि निःशुल्क रूपमा वितरण गरिएको थियो।
आयोजकका अनुसार औषधि खरिदमा मात्रै करिब डेढ लाख रुपैयाँ खर्च गरिएको छ।

शिविरमा प्रसूति तथा स्त्री रोग, आँखासम्बन्धी समस्या, बालरोगसम्बन्धी समस्या, जनरल सर्जरी, अन्य साधारण रोगको जाँच, उपचार तथा औषधि वितरण गरिएको प्रमुख सेनानी शैलेन्द्र सिलवालले जानकारी दिए।
कर्णाली प्रदेश अस्पतालमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ललितजंग शाहीले शिविरमा पुगेका अधिकांश महिलाहरूको पाठेघरको मुखमा संक्रमण देखिएको बताए। महिनावारीमा अत्यधिक रक्तस्राव हुने समस्या र पाठेघर खसेका महिलाहरूले बढी सेवा लिएको उनको भनाइ छ।
शिविरमै ७२ जनाको भिडियो एक्स-रे गरिएको छ। गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका दुर्गम गाउँमा पुगेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको प्रमुख सेनानी सिलवालले बताए।
शिविर बिहानैदेखि सञ्चालनमा आएको थियो भने शिविर साँझ ५ बजेसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न भएको छ। जसमा ४ सय भन्दा बढी स्थानीयले स्वास्थ सेवा लिएकाे प्रमुख सेनानी सिलवालले जानकारी दिए।
प्रमुख सेनानी सिलवालले नेपाली सेना राष्ट्र सुरक्षामा मात्र सीमित नभई नागरिक सेवामा पनि उत्तिकै संलग्न रहँदै आएको बताए।
उनले भने,`नेपाली सेना संविधानले दिएको राष्ट्र सुरक्षाको जिम्मेवारीसँगै नागरिक सेवामा पनि समर्पित छ। स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरूमार्फत हामी नागरिक र सेनाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन चाहन्छौं।`
यसअघि नेपाली सेनाले चौकुने गाउँपालिकामा पनि स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ।
सेना-नागरिक सहकार्यलाई अझ बलियो बनाउन यस्ता सेवा कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रमुख सेनानी सिलवालले जानकारी गराएका छन्।

ए.के. सञ्चार । १५ चैत्र २०८१, शनिबार २२:२१