
सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, पर्यटन र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ।
बुधबार प्रदेश सभा बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामाजिक न्यायसहितको समावेशी समृद्धिको खाका कोरिएको छ।
नीतिअनुसार प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्तरोन्नति गरिने घोषणा गरिएको छ।
संघीयता कार्यान्वयनपछि प्रदेश मातहतमा सञ्चालित अस्पताललाई शिक्षण अस्पताल वा प्रतिष्ठानका रूपमा विकास गर्ने प्रयास यसअघि पनि हुँदै आएपनि अब अध्ययन समितिको सुझावका आधारमा आगामी वर्षदेखि स्तरोन्नतिको काम थालिने बताइएको छ।
सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि संघीय सरकारसँग समन्वय जारी राखिने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्यलाई निरन्तरता दिइने भएको छ।
‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ भन्ने दीर्घकालीन सोचअनुसार नीति तथा कार्यक्रम अगाडि बढाइएको प्रदेश प्रमुख मियाँले बताए। भौतिक पूर्वाधार, रोजगारी र उच्च आर्थिक वृद्धिमा बजेट केन्द्रित गरिने उल्लेख गरिएको छ।
जाजरकोट भूकम्पपछि क्षति पुगेका शिक्षा, स्वास्थ्य तथा आवासीय संरचनाको पुनर्निर्माणमा तीव्रता दिइने जनाइएको छ। भूकम्प प्रभावित क्षेत्रका युवाहरूलाई उद्यमशीलतामा जोड्न सहुलियतपूर्ण कर्जासहितका प्रोत्साहन कार्यक्रम ल्याइने भएको छ।
कर्णालीमा कार्यान्वयनमा रहेका भेरी-कोरिडोर, कर्णाली कोरिडोर र सुर्खेत विमानस्थल विस्तारमा केन्द्रसँगको समन्वयले सार्थकता पाएको र आगामी बजेटमा बढोत्तरी भएको उल्लेख गरिएको छ। भेरी–बबई डाइभर्सन परियोजनाबाट प्राप्त हुने रोयल्टीको पहिलो हक कर्णालीले पाउने गरी नीति निर्माण गरिने उल्लेख छ।

नीति तथा कार्यक्रममा समावेश विषयहरूमा तहगत समन्वयमा संविधानको कार्यान्वयन, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य, सिप र श्रममार्फत रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र निर्यात प्रवर्द्धन, उद्योग तथा पर्यटनमा रोजगारीमुखी कार्यक्रम सञ्चालन, सेवा प्रवाहमा सुधार र पुँजीगत खर्चमा वृद्धि प्रमुख रहेका छन्।
कृषिमा स्याउ, ओखर र सुन्तला विकासलाई प्राथमिकता दिइनेछ। एक गाउँ एक व्यावसायिक फलफूल बगैंचा कार्यक्रम सञ्चालन गर्दै तीन वर्षसम्म बिरुवा सङ्ख्याका आधारमा प्रोत्साहन दिइनेछ। स्याउ प्रवर्द्धनका लागि स्याउ विकास बोर्ड गठन गरिनेछ।
अन्तरप्रदेश सडक सञ्जाल विस्तार गरी सुदूरपश्चिम, लुम्बिनी र गण्डकीसँग जोडिने योजना रहेको छ। पर्यटकीय महत्त्वका स्थानमा झोलुङ्गे पुल निर्माण गरिनेछ। चालू आर्थिक वर्षभित्र तुइन विस्थापन गर्ने लक्ष्य रहेको बताइएको छ।
खेलकुद क्षेत्रमा ‘५ प’ (पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता, पुरस्कार, प्रोत्साहन) नीति अवलम्बन गरिनेछ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै खेल कर्णालीमै सम्पन्न गर्ने गरी आवश्यक संरचना विकास गरिनेछ। पदक विजेता खेलाडीलाई नगदसहितको पुरस्कार दिइनेछ भने व्यावसायिक खेलाडी उत्पादनमा जोड दिइनेछ। बीमा प्रणाली पनि लागू गरिने नीति कार्यक्रममा उल्लेख छ।
नीति तथा कार्यक्रमको पूर्णपाठ:
