सुर्खेत । कर्णाली प्रदेशको मुख्य जिल्ला सुर्खेतका सबै स्थानीय तहहरूले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
बजेटहरू पूर्वाधार निर्माण, कृषि विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना जस्ता जनमुखी क्षेत्रमा केन्द्रित छन् ।सबैभन्दा ठूलो बजेट वीरेन्द्रनगर नगरपालिकाले प्रस्तुत गरेको छ ।
नगर उप–प्रमुख निलकण्ठ खनालले १७ औं नगरसभामा कुल ४ अर्ब ३८ करोड २७ लाख १५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्दै वीरेन्द्रनगरलाई कर्णालीकै पहिलो उप–महानगर बनाउने लक्ष्य सार्वजनिक गरे । बजेटमा २ अर्ब ७८ करोड ८४ लाख पूँजीगत र १ अर्ब ५९ करोड ४२ लाख चालु खर्च छुट्याइएको छ ।
नगरले कर सुधार र आन्तरिक स्रोतको विस्तार गर्दै ५१ करोड ६३ लाख ५० हजार रुपैयाँ आन्तरिक आम्दानी संकलन गर्ने योजना बनाएको छ । वीरेन्द्रनगरलाई शैक्षिक, प्रशासनिक र पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजनासमेत बजेटमा उल्लेख छ ।
गुर्भाकोट नगरपालिकाले १ अर्ब १ करोड ६७ लाख ९५ हजार रुपैयाँ बजेट ल्याएको छ, जसमा पूँजीगततर्फ ३९ करोड १ लाख र चालु खर्च ६१ करोड ८६ लाख ७२ हजार रहेको छ ।

पञ्चपुरी नगरपालिकाले ६९ करोड ११ लाख १५ हजार, भेरीगंगा नगरपालिकाले ८० करोड २५ लाख २४ हजार र लेकबेशी नगरपालिकाले ६१ करोड ५१ लाख २ हजार ६ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् ।
त्यस्तै, बराहताल गाउँपालिकाले ६३ करोड ७ लाख ४ हजार ९ सय ९९ रुपैयाँ र सिम्ता गाउँपालिकाले ६१ करोड ७५ लाख १९ हजार रुपैयाँ बजेट ल्याएका छन् । सिम्ताले ५२ करोड ६ लाख ८३ हजार चालु र ९ करोड ६ लाख ३६ हजार पूँजीगत खर्च छुट्याएको छ ।
चौकुने गाउँपालिकाले ५७ करोड रुपैयाँ, चिङ्गाड गाउँपालिकाले भने ४० करोड ८६ लाख ४६ हजार २ सय ७ रुपैयाँको बजेट पारित गरेको छ । चिङ्गाडको बजेटमा ३१ करोड ८३ लाख ९ हजार चालु र ९ करोड ३ लाख ३७ हजार २ सय ७ पूँजीगत खर्च रहेको छ ।
चिङ्गाडले आन्तरिक राजस्वबाट २५ लाख मात्र उठाउने लक्ष्य लिएको छ भने अन्य स्रोत संघीय र प्रदेश सरकारको अनुदान रहेको छ । बजेटमा शिक्षामा २ करोड २७ लाख, सडक स्तरोन्नति, व्यावसायिक कृषि, नर्सरी, उद्यमशीलता र स्वास्थ्य सेवा विस्तारका लागि पनि रकम छुट्याइएको छ ।
सुर्खेतका स्थानीय तहहरूको बजेटले शहरी विकाससँगै ग्रामीण पूर्वाधार सुधार, रोजगारी सिर्जना र सामाजिक सेवा विस्तारमा केन्द्रित रहेको देखिन्छ ।
