२०८२ असार १३ , शुक्रबार

डोल्पाको रिवा गाउँमा रातको समयमा गएको पहिरोले ८ घर क्षति , विद्यालय भवन पनि क्षतिग्रस्त



सुर्खेत । अविरल वर्षासँगै डोल्पाको काइके गाउँपालिका–४, रिवा गाउँमा गएराति ठूलो पहिरो जाँदा बस्तीमा ठूलो क्षति पुगेको छ।

राति साढे १२ बजेतिर बस्तीमाथिबाट आएको लेदोसहितको पहिरोले ८ वटा घर पूर्ण रूपमा क्षति पुराएकाे छन् भने थप १२ घरमा आंशिक क्षति पुगेको छ।

रिवा गाउँमा जम्मा ५३ घरधुरी छन्। पहिरोले तीमध्ये धेरैजसो घरमा लेदो पसेको र अधिकांश घर बस्नै नहुने अवस्थामा पुगेका छन्। जिल्ला प्रशासन कार्यालय डोल्पाका सूचना अधिकारी दामोदर ज्ञवालीका अनुसार, पहिरोले एक विद्यालय भवनसमेत पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।

बस्तीभन्दा करिब ५ सय मिटर माथिबाट लेदो, माटो र ढुङ्गा खसेर बस्तीमा पसेको देखिन्छ,`उनले भने,`शायद मोटरबाटो खन्दा निकालिएको माटो पनि पहिरोसँगै बगिएको हो।`

घटनापछि स्थानीय प्रहरी चौकी, सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएको छ। सशस्त्र प्रहरीका सईको नेतृत्वमा ११ जनाको टोली अहिले उद्धार कार्यमा जुटिरहेको सूचना अधिकारी ज्ञवालीले जानकारी दिए।

उद्धार टोलीले विस्थापित स्थानीयलाई सुरक्षित स्थानमा सार्नुका साथै घरभित्रका सामान निकाल्न र अस्थायी पुनःस्थापनामा सहयोग गरिरहेको छ।

मानवीय क्षति भने नभएको सूचना अधिकारी ज्ञवालीले जानकारी दिए। उनका अनुसार, माथिबाट खसेको पहिरोले ठूलो आवाज आएको थियो। गाउँ नजिकै रहेका तीनवटा खहरे खोलामा पानी र ढुङ्गामाटो मिसिएर गडगडाहट आएको र सोही आवाजले बासिन्दालाई सतर्क भएको उनकाे भनाइ छ।

उनले भने,`आवाज सुनेर मानिसहरू तुरुन्तै घर छाडेर बाहिर निस्किए, त्यसैले ठूलो जनधनको क्षति हुन पाएन ।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रबार