कर्णालीका हिमाली जिल्लामा नियमित हवाई सेवा दिन माग

सुर्खेत । कर्णालीका हिमाली तथा दुर्गम पहाडी जिल्लामा नियमित हवाई सेवा सुचारु गरिदिन प्रदेश सरकारले संघीय सरकारसँग माग गरेको छ ।

कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै नियमित हवाई सेवा सुचारु गरिदिन माग गरेको हो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले साउन १२ गते हवाई दुर्घटनाको जोखिम न्यूनीकरण गर्न भन्दै विशेष गरी दुर्गमका २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि व्यावसायिक÷चार्टर उडान गर्न नपाइने नियम लागु गरेको छ ।

उक्त निर्णयले कर्णालीका हुम्ला, डोल्पा, मुगु लगायतका जिल्लाका नागरिकहरु मारमा परेको भन्दै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय सरकारलाई नियमित हवाई सेवाका लागि पहल गरिदिन अनुरोध गरेको हो ।

कर्णालीका अधिकांश हिमाली तथा पहाडी दुर्गम जिल्लाहरुमा भरपर्दो सडक सञ्जाल छैन् । वर्षाको समयमा सडक अवरुद्ध भैरहने तथा यातायातको प्रमुख साधन हवाई उडान नै भएकोले यस प्रदेशमा अत्यावश्यक तथा आकस्मिक खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा प्रवाह, प्राकृतिक प्रकोपबाट पीडित जनताको उद्धार लगायतका सेवा उपलब्ध गर्न कठिनाई भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्राधिकरणको साउन १२ गतेको निर्णयले पर्यटन व्यवसायमा समेत प्रतिकूल प्रभाव परेको पत्रमा उल्लेख छ । अपरेशन आवरको समयभन्दा अघिपछि विशेष गरी जुलाई, अगस्ट र सेप्टेम्बर सम्मको अवधिमा अतिरिक्त समयमा उडान सञ्चालन गर्न अनुमित नदिने निर्णयले कर्णालीका जनताको दैनिक जीवनयापनमा कष्टकर हुँदै गएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उल्लेख गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्राधिकरणको निर्णय उपर विचार गरी मौसमको अनुकुलताका आधारमा नियमित हवाई सेवा सुचारुका लागि पहल गरिदिन प्रधानमन्त्री कार्यालयलाई अनुरोध गरेको छ ।