सुर्खेत । कन्नाली पदेशसभाका सभामुख नन्दा गुरुङले सञ्चारमाध्यम र संसदबीचको सहकार्यले संघीय लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेकी छन्।

मंगलबार वीरेन्द्रनगरमा आयोजित ‘कानून निर्माण र कार्यान्वयनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख गुरुङले संसद् केवल भवनभित्र सीमित नहुने, जनताको पहुँचमा पुग्ने माध्यमको रुपमा सञ्चार क्षेत्रले भूमिका निर्वाह गर्नुपर्ने बताएकी हुन् ।
सभामुख गुरुङका अनुसार संसद्ले बनाउने नीति तथा विधि मात्र होइन, जनप्रतिनिधिका बहस र विचार पनि आम जनतासम्म पुर्याउनु सञ्चारको जिम्मेवारी भएको उनले बताइन् । उनले भनिन्,` सञ्चार क्षेत्र नागरिक र संसदबीचको सेतु हो, यो सेतु मजबुत भए मात्र जनताको विश्वास जित्न सकिन्छ।`
संघीयता अभ्यासकै क्रममा रहेको कर्णाली प्रदेशसभालाई व्यवस्थित र प्रभावकारी बनाउन सञ्चारको सुझाव र आलोचना पनि आवश्यक रहेको सभामुख गुरुङको भनाइ थियो। उनले भनिन्,`हामी अझै सिकाइको चरणमा छौं। सञ्चारले देखाउने बाटोले हाम्रो काममा सुधार ल्याउँछ। त्यसैले सहकार्य अपरिहार्य छ।`

उनले प्रदेशसभाको भूमिकालाई केवल कानुन निर्माण र निगरानीमा सीमित नराखी जनसरोकार र पारदर्शिता अभिवृद्धिका लागि काम गर्ने दायित्व रहेको स्पष्ट पारिन्।
हाम्रो काम जनपक्षीय, पारदर्शी र खुला हुँदा मात्रै जनतामा विश्वास बढ्छ,`उनले भनिन्,`त्यसैले सञ्चारको सक्रियता लोकतन्त्रका लागि अपरिहार्य हो।`
कार्यक्रममा सभामुख गुरुङले पत्रकारहरूमार्फत आएका सुझावलाई आत्मसात् गर्दै प्रदेशसभालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
प्रदेशसभा सचिवालय खुला र समन्वयकारी रहन्छ,`उनले भनिन्,`तपाईंहरूका यस्ता सुझावले हामीलाई अझ निखारिने अवसर दिन्छ।`









