
सुर्खेत । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको नगरप्रमुख मोहनमाया ढकालको दुईतले घरमा भएको सम्पत्ति खरानी बनेको छ।
पैत्रिक सम्पत्ति र श्रीमानको कमाइले बनेको आठ कोठे घरभित्रका चल–अचल सम्पत्ति समेत लुटपाटसँगै जलेर नष्ट भएका छन्।
मेयर ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा सार्वजनिक गर्दै नगरविकासका कामकै कारण परिवारले यस्तो अन्याय भोग्नुपरेको हो कि भन्ने प्रश्न उठाएकी छिन्।
ढकालका अनुसार घरको पहिलो तला २०५९ सालमा र दोस्रो तला २०६५ सालमा निर्माण गरिएको थियो।
घरभित्रका चल–अचल सम्पत्ति केही पैत्रिक र केही उनका श्रीमानको २५ वर्ष अंग्रेजी शिक्षक पदमा रहेर कमाएको मेहनतको कमाइले जोडिएको जानकारी दिइएकी छन् ।
ढकालले उल्लेख गरेकी छन् कि उनले नगर विकास र जनताको अधिकार सुनिश्चित गर्न अहोरात्र बताएकी छन् ।
उनले आफूले कार्यकालमा सडक फराकिलो बनाउनेदेखि सार्वजनिक पार्क निर्माण, पार्किङ व्यवस्थापन, पैदलमार्ग र फुटपाथको विकास, ट्राफिक लाइट जडान, सार्वजनिक शिक्षा सुधार, बुलबुले, घण्टाघरजस्ता धरोहर संरक्षण, खानेपानी अभाव समाधानका लागि भेरी लिफ्टिङ आयोजना, स्वास्थ्य सेवा विस्तार र राजस्व–पूर्वाधारको हिसाबले उपमहानगरको मापदण्ड पूरा गर्ने जस्ता काम अघि बढाएको उल्लेख गरेकी छिन्।

उनले नीति र विधिभन्दा बाहिर गएर कसैलाई व्यक्तिगत लाभ हुने गरी कुनै काम नगरेको दाबी गर्दै,`के मैले नगरको विकासका लागि गरेको कामकै कारण मेरो घर जलाइयो ? भनेर प्रश्न गरेकी छिन्।
सार्वजनिक जिम्मेवारीमा रहेर काम गर्दा धेरैनै मानसिक पीडा पाएकाे मेयर ढकालले बताएकि छन् ।
२०७४ सालमा उपमेयर भएर ५ बर्ष र २०७९ सालमा मेयर भएर तीन कार्यकाल पूरा गरिसकेकाे उनले जनाएकी छन् ।
उपमेयर हुँदा मेयर भएर कोरोना महामारीको चुनौतीपूर्ण समय सामना गरेको स्मरण गर्दै ढकालले त्यो समयमा जीवनलाई जोखिममा राखेर नगरवासीको सेवामा खटिएको बताइन्। तर, त्यसपछि चुनावमा भ्रष्टाचारका प्रमाणविहीन आरोप लगाएर बदनाम गर्ने रणनीति बनाइएको उनले गुनासो गरिन्।
आज वीरेन्द्रनगर राजधानी सहरका रूपमा विकासको फड्को मारिरहेको छ, तर म र मेरो परिवारमाथि यति ठूलो अन्याय किन भयो ? भन्दै उनले सम्पूर्ण सम्पत्ति छानबिन गर्न आग्रह गरेकि छन् ।
राजनीतिक प्रतिस्पर्धा र प्रतिशोधका आधारमा लगाइने टिप्पणीले आफूलाई कमजोर बनाउन नसक्ने स्पष्ट पार्दै उनले भनिन्,`नगरवासी आमाबुबा दाजुभाइ दिदीबहिनीको मतको संरक्षण गर्दै जस्तोसुकै परिस्थितिमा पनि नगरको विकास, राष्ट्र र राष्ट्रियताको पक्षमा सधैं उभिरहने छु।`
