प्रदेश अस्पताललाई मोडेलको रुपमा स्थापित गर्न अस्पताल प्रशासनलाई शाहीकाे निर्देशन

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको गौरवको रुपमा रहेको कर्णाली प्रदेश अस्पताललाई मोडेलको रुपमा स्थापित गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

अस्पतालमा आउने विरामीहरुको उचित उपचार गर्न र अस्पतालले दिने सेवा प्रवाहमा थप प्रभावकारी बनाउनमा अस्पतालले ठुलो भूमिका खेल्नु पर्ने मुख्यमन्त्री शाहीले बताए ।

कोरोनाको तेश्रो भेरियन्ट सुरु हुने खतरा रहेको विज्ञहरुले बताइरहेको समयमा मुख्यमन्त्री शाहीले आज अस्पतालको निरीक्षण गर्दै अस्पताललाई स्रोत साधनमा थप व्यवस्थित बनाउनको लागि नयाँ कार्यक्रम सहित बजेटको माग राख्नका लागि प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्वर खड्कालाई निर्देशन दिएका छन् ।

कर्णाली प्रदेश अस्पताल कर्णालीका नागरिकहरुको लागि प्रदेशकै सबैभन्दा भरपर्दो र विश्वासीलो बन्दै गएको भन्दै मुख्यमन्त्री शाहीले यो अस्पताललाई मोडेलको रुपमा विकास गर्न तिर अस्पतालका सबै कर्मचारीहरुले लाग्नु पर्ने बताए ।

बजेट भएर पनि कोरोना माहामारीको कारण बजेट कार्यन्वयनमा बेला बेला समस्या आएको भन्दै अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले अबको केहि समयमा प्रदेश अस्पतालमा सेवा प्रवाहमा कुनै कमि हुन नदिने बताए ।

‘यो अस्पतालको लागि आवश्यक बजेट विनियोजन गरिसकिएको छ । उक्त बजेटको अधिकतम प्रयोग गर्दै अस्पतालाई अत्याधुनिक बनाउन प्रयास जारी राख्नुहोस ।’ मुख्यमन्त्री शाहीले भने, ‘बजेट कम भएको छ भने प्रदेश सरकार त्यसको व्यवस्था मिलाउन तयार छ । अस्पतालमा आएका सेवाग्राहीको मुहारमा सधैं खुशी ल्याउने गरि कामहरु अघि बढाउनुस ।’

मुख्यमन्त्री शाहीले अस्पतालमा गएर ‘होलबडी’ चेकजाँचसमेत गराएका थिए ।मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका प्रमुख सचिव र सम्पूर्ण मन्त्रालयका सचिवहरुले प्रदेश अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।