मोटे ग्याङ नेपालद्धारा ठग बहादुर कामीको उद्धार

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर १३ गुप्तिपुरका ५३ बर्सिया ठग बहादुर कामीको मोटे ग्याङ नेपाल उद्धार गरेको छ । शरीर जलेका असक्त भएका ठग बहादुरको उद्धार गरिएको हो ।

ठग बहादुर पिडामा छटपटाई रहेको अवस्थामा मोटे ग्याङ नेपालका सदस्य भरत साही ठकुरीले उनको घरमा ‘तुरुन्तै कोभिड जित्दै छ’ कर्णालीद्वारा सञ्चालित अटो एम्बुलेन्स लगेर उद्धार गरिएको बताए ।

बिरामीको उपचार कर्णाली केयर प्रा.लि मा भर्ना भइरहेको ठकुरीले जानकारी दिए । आगोले जलेका बिरामीको उपचार कर्णाली केयर र डा. नवराज के सी ले निःशुल्क गरेका छन् ।
गत वैशाख २ गते गुप्तिपुर जङ्गलमा डढेलो लागिरहेको अवस्थामा दाउरा लिन जङ्गल गएका बेला आगोले उनलाई भेटेको थियो ।

कम्मर मुनिको भाग र हात जलेर घाइते भएका उनलाई उपचारका लागि सुरुमा एक प्राइभेट अस्पतालमा लगिएको थियो । प्राइभेट अस्पतालमा उपचारका लागि आर्थिक समस्याका कारण गर्न नसक्ने भएपछि क्षेत्रीय अस्पताल कालागाँउ लगेर उपचार गरिएको थियो ।

 

घाउहरु अलि सन्चो भएपछि कोरोनाको कारण देखाउँदै अस्पतालले घर लैजानुस् भनेपछि ‘हामीले घर ल्याएका हौँ’ ठग बहादुरका भाइले भने । अहिले ठग बहादुरको शरीरका घाउहरु बाट पानी निस्केको र किरा समेत परेको छ ।

ज्याला मजदुर गरी खाने उनका भाइ अस्पतालमा बिरामी कुरुवा बसेपछि घरमा रासनको अभाव हुने गरेको बताउँछन् । तर वीरेन्द्रनगर सुर्खेत स्थित प्रदेश आयुर्वेदिक औषधालयमा सञ्चालित “अमृत भोजन अभियान” को तर्फबाट रासन, तरकारी तथा फलफूल सहयोग गरिएको छ ।