सुर्खेत । बराहताल गाउँपालिका ५ श्री जनज्योति मा.वि बड्डीचौरमा यहि चैत्र १७ गते देखि १९ गते सम्म संचालन हुने १३ औं सुर्खेत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदको तत्वाधान र सुर्खेत जिल्ला खेलकुद विकास समितिको आयोजना एवम् श्री जन ज्योति मा.वि. बड्डीचौर,बराहताल ५ सुर्खेतको सहआयोजनामा हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारीबारे मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको आयोजकको तर्फबाट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्र गिरी र सहआयोजकको तर्फबाट श्री जनज्योति मावि बड्डीचौरका प्रधानध्यापक नारायण प्रसाद सिग्देलले संयुक्त रुपमा जानकारी दिए ।
उक्त प्रतियोगितामा कराते छात्र ४ छात्रा ४, तेक्वान्दो छात्र ३, छात्रा ३, उसु छात्र ३, छात्रा ३, भलिबल छात्रा १, छात्र १, कवड्डी छात्र १, छात्रा १, एथलेटिक्स छात्र १३, छात्रा १३, गरी जम्मा ५० इभेन्टमा ५० स्वर्ण पदक, ५० रजत पदक, ११४ कास्य पदकका लागी प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
सुर्खेत जिल्लाभरका ४६ विद्यालयका ७५० जना खेलाडी एवंम १५० जना निर्णायक तथा अफिसियलहरुको सहभागिता रहने छ । भने उक्त प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढा क्षेत्रीले गर्ने छन् ।
तिन दिन सम्म चल्ने विभिन्न विधाको उक्त खेलमा २० लाख ५० हजारको लागत अनुमान गरिएको आयोजकले जनाएको छ । उक्त लागत अनुमान मध्य जिल्ला खेलकुद विकास समितिले ४ लाख, बराहताल गाउँपालिकाले १० लाख, सुर्खेत जिल्लाका सम्पूर्ण नगरपालिकाले एक, एक लाख र सम्पूर्ण गाउँपालिकाले ५० हजारका दरले सहयोग गर्ने बाचा गरेकोले रकम अपुग नहुने बराहताल गाउँपालिका अध्यक्ष तेज बहादुर बस्नेतले जानकारी दिए ।
सहआयोजनक रहेको बराहताल गाउँपालिका ५ जनज्योति मा.वि. विद्यालयले १ आवास तथा खाना, व्यवस्थापन उप समिति २. फिल्ड व्यवस्थापन उप समिति ३. स्वयम सेवक उप समिति जिम्मा लिएको छ ।
ए.के. सञ्चार । १५ चैत्र २०७८, मंगलवार २०:४४