२०८२ असार २८ , शनिबार

खेलकुदमार्फत अपांगता भएका व्यक्तिको सहभागिता सुनिश्चित गर्नुपर्छ: नगरप्रमुख ढकाल




सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलोपटक खुला ह्वीलचियर दौड प्रतियोगिता सम्पन्न भएको छ।

वीरेन्द्रनगर नगरपालिका वडा नं ३ को आयोजनामा तथा पारा फाउण्डेशन सुर्खेतको सह–आयोजनामा भएको प्रतियोगिता एरिचोकदेखि रेडियो नेपाल पुलसम्मको दुरीमा सञ्चालन गरिएको हो।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले अपांगता भएका व्यक्तिहरूलाई खेलकुदका माध्यमबाट समाजको मूलधारमा ल्याउन यस्तो प्रतियोगिता सहयोगी हुने बताइन्।

हामी सबै वर्गको सरकार हौं उनले भनिन्,` सबै क्षेत्रको प्रतिनिधित्व हुने खालका कार्यक्रम गर्नुपर्नेमा हामी प्रतिबद्ध छौं ।

वडा नं ३ का अध्यक्ष विनोद सिंह बिष्टले अपांग व्यक्तिका लागि पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै अब नगर क्षेत्रलाई अपांगमैत्री बनाउने अभियान सञ्चालन गरिने बताए।

हामीले अन्य धेरै खेलकुद प्रतियोगिता आयोजना गर्यौं, तर अपांगता भएका व्यक्तिकाे मनोबल बढाउनेतर्फ ध्यान दिन सकेका थिएनौं उनलेे भने,`अब शौचालय, बाटो, सरकारी कार्यालय सबै अपांगमैत्री बनाउँछौं ।`

पारा फाउण्डेशन सुर्खेतका को–अर्डिनेटर मनराज कठायतले प्रतियोगिता आगामी दिनमा अझ व्यापक बनाइने जानकारी दिए।

यसलाई हामी राष्ट्रियस्तरको बनाउने योजना बनाइरहेका छौं उनले भने,` कर्णालीमै अपांगता भएका व्यक्तिहरूको खेलकुदको सशक्त सुरुवातका रूपमा हामीले हेरेका छौं।`

प्रतियोगितामा जम्मा २५ जना असक्त व्यक्तिहरूको उपस्थिति भए पनि ह्वीलचियरको अभावले गर्दा ७ जनामात्रै खेलाडी सहभागी हुन सकेका थिए।

सहभागीमध्ये धेरैले आफ्नै ह्वीलचियर नभएर अरूसँग मागेर प्रतियोगितामा भाग लिएका थिए।

एक सहभागीले हामीसँग ह्वीलचियर थिएन, साथीको सहयोगमा भाग लिएका हौं। यस्तो प्रतियोगिता कर्णालीमै हुनुले हामीलाई ठूलो आत्मबल मिलेको छ।`

प्रतियोगितामा भुपेन्द्रबहादुर रोकाया प्रथम हुँदै नगद १५ हजार रुपैयाँ पुरस्कार जिते। दुधकली कार्की दोस्रो हुँदै १० हजार रुपैयाँ र नौले सहकारीकी प्रतिनिधि तेस्रो हुँदै ५ हजार रुपैयाँ प्राप्त गरिन्।

पारा फाउण्डेशनका अध्यक्ष किशोरबहादुर शाहीले प्रतियोगिता अपांगता भएका व्यक्तिहरूको क्षमता प्रदर्शन र सामाजिक आत्मविश्वास निर्माणका लागि महत्वपूर्ण रहेको बताए।

हामी अपांगता भएका दाजुभाइ–दिदीबहिनीका लागि सम्भावना देख्ने र देखाउने प्रयासमा छौं उनले भने,` यो प्रतियोगिता त्यसकै थालनी हो।`

कार्यक्रमले कर्णालीमा अपांगता भएका व्यक्तिका लागि खेलकुदको नयाँ ढोका खोलिदिएको सहभागीहरू बताउँछन्।

प्रकाशित मिति : २०८२ जेठ २० गते मंगलबार