दैलेखमा गठबन्धनबीच भागवण्डा नमिल्दा बैठक विना निष्कर्ष टुंगियाे

सुर्खेत । दैलेखमा स्थानीय तहको चुनावमा भागवण्डा मिलाउन बसेको सत्तारुढ दलहरूको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) दल आ-आफनो अडानबाट पछि नहटेपछि सहमति जुट्न नसकेको हो ।

माओवादी केन्द्रका जिल्ला संयोजक प्रेम कटुवालका अनुसार स्थानीय तहको नेतृत्व बाँडफाँट नटुंगिएकाले सोमबार दिउँसो फेरि बैठक बस्ने सहमति भएको छ । दैलेखमा माओवादी र एकीकृत समाजवादीले ५० प्रतिसत पाउनु पर्ने अडान लिएका छन् । तर काँग्रेस दिन तयार भएकाे छैन् ।

दैलेखमा नेकपा एमाले विभाजित हुँदा एक पालिका प्रमुख र तीन उपप्रमुख एकीकृत समाजवादीतिर लागेका छन् । जिल्लामा आफ्नो पकड राम्रो रहेको भन्दै एकीकृत समाजवादीले तीन पालिकाको नेतृत्व आफूले पाउनुपर्ने अडान लिएको छ ।

जिल्लामा कांग्रेसले ७, माओवादीले तीन र एकीकृत समाजवादीले तीन पालिकाको नेतृत्व पाउनु पर्ने बताउँदै आएका छन् । कांग्रेस जिल्ला सभापति मणिराम रेग्मीले भने गठबन्धनमा दलहरूसँग सहमति नजुटे कांग्रेस एक्लै चुनाव लड्ने बताए ।

अहिले पनि छलफल जारी छ, सहमति नजुटे ९ गते टिकट बाँडेर उम्मेदवारलाई गाउँ पठाउँने रेग्मीले बताए । आ-आफना अडान कायमै छन् । माओवादी र समाजवादीले अली बढी नै पालिका माग गरेपछि भागवण्डा मिल्न नसकेको बताए ।