स्वतन्त्र उम्मेदवारले दलको झण्डा बोकेर मत मागे कारबाही गर्ने कानुन छैन

काठमाडौं । स्वतन्त्र उम्मेदवारले कुनै राजनीतिक दलको झण्डासहित निर्वाचन प्रचारमा लागे कारबाही गर्ने कानुनी व्यवस्था नभएको पाइएको छ ।निर्वाचन ऐनमा यससम्बन्धी व्यवस्था नभएकै कारण स्वतन्त्र उम्मेदवारले दलको झण्डा नै बोकेर निर्वाचन अभियानमा लाग्दा पनि निर्वाचन आयोग र आयोगले गठन गरेको निर्वाचन आचारसंहिता अनुगमन समितिले कारबाही गर्न सकेका छैनन् ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्वतन्त्र उम्मेदवारले दलको झण्डा बोकेर मत माग्दै हिँडे के गर्ने भन्ने कानुनी व्यवस्था नभएको बताए । शनिबार निर्वाचन चिह्न ‘भुइँकटहर’ पाएपछि चितवनको भरतपुर महानगरपालिकाका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कांग्रेसको चार तारे झण्डा ‘फ्लेक्स प्रिन्ट’मै छापेर निर्वाचन अभियान थालेका छन् ।

उनी कांग्रेसले साधारण सदस्यतासमेत खोसिएका उम्मेदवार हुन् । कांग्रेसले नै हटाएपछि उनको कांग्रेससँग सम्बन्ध छैन । नभए पनि उनले कांग्रेसको चार तारे झण्डा प्रयोग गरे । आयोगका प्रवक्ता अर्यालले चार तारे झण्डा र रुख चिह्न त नेपाली कांग्रेसको भएको बताउउ । एक किसिमले हेर्दा त्यो रुखलाई मत मागेको भए पनि त्यसरी दलको झण्डा प्रयोग गरेर मत माग्छ भने कारबाही गर्ने कानुनी व्यवस्था नभएको उनले बताए । नैतिक पक्षबाट अर्काको चिह्न प्रयोग नगर्दा राम्रो भएको तर प्रयोग गरे यसै गर्नुपर्छ भनेर ठ्याक्कै कहीँ नलेखिएको उनले बताए । स्वतन्त्र उम्मेदवार बनेका पौडेल शुक्रबार कांग्रेसले अनुशासनको कारबाही गरेर हटाइएका हुन् ।

पूर्व राष्ट्रियसभा सदस्यसमेत रहेका पौडेलले भरतपुर महानगरपालिकाको नेतृत्व नेकपा (माओवादी केन्द्र)लाई दिनेगरी पाँच दलीय गठबन्धनबीच तालमेल भएपछि असन्तुष्टि जनाएका थिए ।त्यसपछि १२ वैशाखमा उनी गठबन्धनकै उम्मेदवार रेणु दाहालको बागी बनेका हुन् । उम्मेदवारी फिर्ताको लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले दबाब दिए पनि उनले फिर्ता लिएनन् ।