सुर्खेत । स्वस्थ्य सेवा कर्यालय कालिकोटमा पहिलो पटक हाडजोर्नीसम्बन्धी अप्रेसन सफल भएको छ। हाडजोर्नी तथा नशारोग विशेषज्ञ चिकित्सकको अभावमा यसअघि हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई जुम्ला तथा प्रदेश अस्पताल कालागाउँ, सुर्खेत रिफर गर्नुपर्ने अवस्था थियो।

भदौ १० गते प्रदेश अस्पतालबाट हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. सागर ढकाल जिल्ला अस्पताल कालिकोटमा सरुवा भएर आएपछि पहिलो पटक हाडजोर्नीसम्बन्धी अप्रेसन गरिएको जिल्ला अस्पताल कालिकोटका प्रमुख डा. रत्नवीर सुनारले जानकारी दिए।
तिलागुफा नगरपालिका–६, कालिकोट निवासी तीन वर्षीय बालकको कोहिनाको हड्डी भाँचिएपछि जिल्ला अस्पतालमै सफलतापूर्वक अप्रेसन गरिएको हो।
अप्रेसन हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. सागर ढकालले गरेका थिए भने अप्रेसनमा एनेस्थेसिया सहायक विकास न्यौपाने र स्क्रब नर्स कविता शाही सहभागी थिए।
यसअघि स्वस्थ्य सेवा कर्यालय कालिकोटमा सुत्केरी, हाइड्रोसिल, हर्नियालगायतका बिरामीको अप्रेसन हुँदै आएको थियो। तर हाडजोर्नी तथा नशारोग विशेषज्ञ चिकित्सक नहुँदा हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो।
जिल्लामै उपचारको सुविधा नहुँदा बिरामी तथा परिवारले महँगो यातायात खर्चसँगै बाहिर बस्दा थप आर्थिक भार व्यहोर्नुपर्ने अवस्था रहेको थियो।
बालकका बुबा भीमबहादुर शाहीका अनुसार रेलिङबाट खसेर छोराको हात भाँचिएको थियो। कालिकोटमै हाडजोर्नी तथा नशारोग विशेषज्ञ चिकित्सक आएको जानकारी पाएपछि थप उपचारका लागि छोरालाई जिल्ला अस्पताल ल्याइएको उनले बताए।
उनले भने,`कालिकोटमै अप्रेसनको सुविधा नभएको भए छोरालाई उपचारका लागि नेपालगन्ज वा काठमाडौं लैजानुपर्ने अवस्था थियो । उपचारसँगै आउने जाने र बस्ने खर्चसमेत धेरै लाग्ने भएकाले आफ्नै जिल्लामा अप्रेसन सफल हुँदा हामि एकदमै खुसी छौं ।
स्वस्थ्य सेवा कर्यालय कालिकोटमै हाडजोर्नी तथा नशारोगसम्बन्धी अप्रेसन सुरु भएपछि कालिकोटका बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ।









