बाढीबाट १ लाख ५७ हजारभन्दा बढी महिला तथा किशोरी प्रभावित



काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट १ लाख ५७ हजारभन्दा बढी महिला तथा किशोरी प्रभावित भएको यूएन विमेनले जनाएको छ।

भदौ १० गते आएको आकस्मिक बाढीपहिरोबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका कुल १ लाख ५७ हजार ५० जना महिला तथा किशोरी प्रभावित भएका हुन्। यूएन विमेनका अनुसार उनीहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

बाढीपछि खाद्यान्न र खानेपानीको अभावसँगै स्वास्थ्य तथा सुरक्षा सेवा प्रभावित हुँदा महिला तथा किशोरी थप जोखिममा परेका छन्। उनीहरू हिंसा, शोषण र भोकमरीको जोखिममा रहेको यूएन विमेनले जनाएको छ।

प्रभावित जिल्लामा धेरै महिला निरक्षर भएकाले राहत तथा सरकारी सहयोगसम्बन्धी सूचना लिनसमेत समस्या भइरहेको जनाइएको छ। बाढीले महिला नेतृत्वमा रहेका परिवार र विप्रेषणमा निर्भर परिवारलाई समेत थप समस्यामा पारेको छ।

नेपालका लागि यूएन विमेनकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पाचेकोले विपद्का बेला महिला तथा किशोरीमाथि जोखिम बढ्ने बताएकी छन्। उनले विगतका विपद्को अनुभवले पुरुषको तुलनामा महिलाको जोखिम बढी देखाएको उल्लेख गरेकी छन्।

यूएन विमेनले प्रभावित क्षेत्रमा खाद्यान्न र अत्यावश्यक सेवा पुर्‍याउन महिला नेतृत्वको ‘कम्युनिटी किचन’ सञ्चालन गरिरहेको जनाएको छ। संस्थाले आपत्कालीन सहयोगका लागि २० लाख अमेरिकी डलर आवश्यक रहेको भन्दै सहयोगको अपिलसमेत गरेको छ।

प्रकाशित मिति : २०८३ भदौ १३ गते शनिबार