सुर्खेत । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले गठबन्धनका कारण प्रष्ट सैद्धान्तितक मतभेद भएका पार्टीको चुनाव चिह्नमा मत दिन पार्टी कार्यकर्ता मात्र नभइ शुभेच्छुक समेतलाई गाह्रो भएको देखिएको जनाएको छ ।
उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिले प्रदीप पौडेल नेतृत्वको उपसमितिले दिएको प्रतिवेदनलाई पनि समावेश गरेर तयार गरेको हो । स्थानीय तहको निर्वाचनको समीक्षा गरिएको प्रतिवेदनमा यसका बाबजुद पनि गठबन्धनले फाइदा पुगेको उल्लेख गरिएकिो छ ।
गठबन्धनलाई कम्तिमा आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसम्म कायम राख्नुपर्ने निष्कर्ष पनि प्रतिवेदनमा निकालिएको छ। गठबन्धन प्रभावकारी बनाउन केन्द्रको जस्तै संयन्त्र जतिसक्यो चाँडो प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रसम्म बनाउनुपर्ने बताइएको छ।
मत नदिने चुनौतीका बाबजुद गरिएको गठबन्धनले सफलता पाएको छ । यस पटकको निर्वाचनमा गठबन्धनको सैद्धान्तिक पक्ष तथा औचित्य बारेमा पार्टीको केन्द्रीय तहदेखि तलसम्म एकै तवरको सकारात्म बुझाइ नजानु, गठबन्धनको पालनामा अुशासन खुकुलो हुनु र कार्यकर्तालाई गठबन्धनको औचित्य बुझाउन नसक्नु पार्टीको कमजोरी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै प्रतिवेदनमा प्रचार प्रसारको शैलीमा आएको परिवर्तनलाई पार्टीले पछ्याउन नसक्दा समस्या हुने उल्लेख गरिएको छ ।त्यस्तै शहरी क्षेत्रका स्वतन्त्र उम्मेदवार र युवाहरु कांग्रेसका लागि चुनौती रहेको निष्कर्ष निकालेको छ । स्वतन्त्र र युवाहरुबाट सिर्जित चुनौतीलाई मध्यनजर गर्दै आगामी चुनावका लागि विशेष रणनीति बनाउनु पर्नेमा प्रतिवेदनमा सुझाव दिइएको छ।
ए.के. सञ्चार । १७ असार २०७९, शुक्रबार ०८:५९