जुम्लामा माओवादीको घोषणा पत्र सार्वजनिक,व्यक्तिको क्षमता अनुसार काम दिइने

जुम्ला । नेकपा माओवादी केन्द्र जुम्लाले घोषणा पत्र सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको घोषणा पत्रमा युवा,युवतिलाई विकास निर्माण र सामाजिक कार्यमा लगाइने उल्लेख गरिएको छ । नेकपा माओवादी केन्द्रले विकास निर्माणमा खर्च गरिने सम्पूर्ण रकम रोजगारका लागि खर्च गरिने प्रतिबद्धता जनाएको हो ।नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य गजेन्द्रबहादुर महतले भने, ुसबै स्थानीय तहमा रहेका बेरोजगार युवा युवतीलाई रोजगारको ग्यारेन्टी गरिने छ । हाल विकास निर्माणसँग रोजगारलाई जोडिने नीति लिइरहेको अवस्थामा आगामी दिनमा रोजगारसँग विकास निर्माण जोडिने नीति लिइने छ ।

रोजगारी दिइएका सम्पूर्ण युवा युवतिलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, वन क्षेत्र,वातावरण सरसफाइ सबै स्थानीय तह र नागरिकको सुरक्षाका साथै सामाजिक कार्यमा लगाइने छ । वडा सदस्यदेखि गाउँपालिका नगरपालिका अध्यक्षसम्म र रोजगारी दिइएका सम्पूर्ण जनशक्तिको तलब भत्ता समान रहने छ । रोजगारी दिइएका व्यक्तिको क्षमता अनुसार कामको जिम्मा दिइने उक्त घोषणा पत्रमा उल्लेख गरिएको छ । गाउँपालिका नगरपालिकाका अति आवश्यक रहेका ठूला निर्माणका कामहरूको लागी प्रदेश र संघीय सरकार को सहयोग लिइने बताइएको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य महतले रोजगारीको समय अवधि एक वर्षको हुने बताए । रोजगारी दिइएका व्यक्तिलाई क्षमता अनुसार काम दिइए पनि विशिष्ट अवस्थामा सबै प्रकारका काम गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । रोजगारीका लागि पहिलो प्राथमिकता नगरपालिका गाउँपालिका भित्रका रोजगार नपाएका सबै घरपरिवारलाई हुने छ ।

विजयी भएको नगरपालिका गाउँपालिका वडामा पहिलो वर्षबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दाको मितिबाटै पार्टीको घोषणा पत्रलाई आत्मसात् गर्दै जिल्लामा रहेका जिम्मेवार नेता कार्यकर्ताको उपस्थितिमा घोषणा पत्रलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।रोजगारीमा खटिने व्यक्तिको उमेरको हकमा २० वर्षदेखि ६० वर्षभित्र रहने छ । विभिन्न शीर्षकमा जीवन निर्वाह भत्ता लिइरहेका व्यक्तिको हकमा उनीहरूलाई (रोजगारी वा जीवननिर्वाह भत्ता) मध्य एउटा रोज्न दिइने छ ।