रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक युवक घाइते

रुपन्देही। रुपन्देहीको ओमसतियामा एक युवामाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएको रुपन्देहीका प्रहरीले जनाएको छ । गोली प्रहार गरेको आशंकामा २ जना पक्राउ परेका छन् ।

सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका विकास गुरुङलाई गोली हानेपछि लुटेरा समूहले नजिकै रहेको सिद्धार्थ कटेज (ढावा पसल)बाट पैसा लुटेर भागेका छन् । प्रारम्भिक अनुसन्धानबाट २५ हजार लुटपाट भएको खुलेको छ । गोली हान्नेहरू पल्सर मोटरसाइकलमा आएका थिए । राति पौने १२ बजेतिर गोली प्रहार भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।