सुर्खेत । वीरेन्द्रनगर-४ को भैरम सामुदायिक वन उपभोक्ता समूहलाई प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सुझाव दिइएको छ । समूहको शुक्रवार सम्पन्न २३ औं बार्षिक साधारणसभाका सहभागीहरुले प्रादेशिक शहीद पार्कसमेत रहेको सो वन समूहको गतिविधिहरु प्रदेशमै उत्कृष्ट भएकोले यसलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सुझाव दिइएका हुन् ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले सामुदायिक वनको हाताभित्र रहेको प्रादेशिक शहीद पार्क प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य गराउनुपर्ने सुझाव दिए । उने शहीद पार्कभित्र गुरुयोजना विपरितका कुनैपनि कामहरु नगर्न आग्रह गर्दै अव गुरुयोजना पुनः अवलोकन गरी सोही अनुसार संरचना निर्माणमा ध्यान दिनुपर्ने बताए ।
पार्कभित्र पुराना नमूना घर, कोल, ढिकी जाँतोजस्ता पम्परागत संरचनाहरु निर्माण गरी पर्यटकहरुलाई थप आकर्षित बनाउनुपर्नेमा उनेले जोड दिए । वीरेन्द्रनगर नगरपालिकाका पूर्व प्रमुख देवकुमार सुवेदीले भैरम सामुदायिक वनलाई अध्ययन केन्द्रको रुपमा पनि विकास गर्न सुझाव दिए । उनले पार्कलाई सफा र स्वच्छ राख्दका लागि संरचना पनि सोही अनुसारका गराउन वन समूहलाई निर्देशन दिनुभयो । साथै वीरेन्द्रनगरको पानीको मुहान मानिने उत्तरी जलाधार क्षेत्रलाई संरक्षण गर्ने योजनाहरु ल्याउन वन समूहलाई उहाँले आग्रह गरे ।
कार्यक्रममा समाजसेवीहरु शम्भूकुमार पन्त, जनजागरण वनका अध्यक्ष मेघबहादुर बोहरा, नेपाली काँग्रेसका वडा सभापति गोविन्दप्रसाद शर्मा, एमाले वडा उपसभापति मनिराम भण्डारी, नेकपा माओवादी केन्द्रका वडासंयोजक दिपु श्रीमाल, पिपलबोट सहकारीका अध्यक्ष बलहादुर सार्कीलगायतले सामुदायिक वन समूहले गरेको गतिविधिहरु उत्कृष्ट रहेको भन्दै आगामी दिनमा उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर थप काम गर्न सुझाव दिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष देवीप्रसाद खनालले समूहको आर्थिक गतिविधिका साथै आगामी वर्षको प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियोभने अध्यक्ष अमरबहादुर कार्कीले गत वर्षमा संस्थाले गरेका गतिविधिहरुमाथि प्रकाश पारेका थियो । आगामी आर्थिक वर्षमा सामुदायिक वनले शहीद पार्कमा गुरुयोजना अनुसार झरना, मचान, ट्रि हाउसलगायतका संरचनाहरु निर्माण गर्ने, उपभोक्ताहरुको हित लक्षित कार्यक्रमहरु ल्याउने जानकारी दिए ।
ए.के. सञ्चार । ६ माघ २०७९, शुक्रबार १६:२०