कर्णालीको आर्थिक विकासका लागि व्यवसायी कँडेलको सुझावपत्र मुख्यमन्त्रीलाई

सुुर्खेत। कर्णाली प्रदेशको आर्थिक विकास र व्यवसायिक समृद्धिका लागि सुर्खेतका व्यवसायी लक्ष्मण कँडेलले ११ बुँदे सुझावसहितको मागपत्र मुख्यमन्त्री समक्ष पेश गरेका छन्।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश गर्नुपर्ने विषयहरू समेट्दै उनले साना तथा मझौला उद्योग, पर्यटन, युवा उद्यमशीलता, जडीबुटी उद्योग, लघु उद्योग ग्राम, हवाई सेवा र विद्युत आपूर्ति सुधारलगायतका क्षेत्रमा ध्यान दिन सरकारसँग आग्रह गरेका हुन्।

कँडेलले साना तथा मझौला उद्योगलाई सहुलियतपूर्ण कर्जा र धितोविहीन परियोजनाआधारित कर्जा दिनुपर्नेमा जोड दिएका छन्।

त्यस्तै, युवा स्टार्टअपलाई अनुदान र सीप अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले माग गरेका छन्।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै ‘मेड इन कर्णाली’ अभियान चलाउनुपर्छ,`कंडेलले भनेका छन्,`स्थानीय उद्योग तथा पर्यटन व्यवसायमा सहुलियतपूर्ण कर्जा र पूर्वाधार आवश्यक छन्।

सुझावपत्रमा उनले कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् लाइनको निर्माण कार्य छिटो सम्पन्न गर्न र सुर्खेतबाट कर्णालीका विभिन्न जिल्लामा नियमित हवाई उडान सञ्चालन गर्नुपर्ने पनि उल्लेख गरेका छन्।

सडक किनारामा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई व्यवस्थित रुपमा स्थानान्तरण गरी ‘कर्णाली हाटघर’ स्थापना गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।