कर्णाली प्रदेश सरकारद्वारा विपद् पीडितलाई बीमा रकम भुक्तानी

सुर्खेत । राष्ट्रिय बीमा कम्पनीमार्फत कर्णाली प्रदेश सरकारले विपद् पीडितलाई ७८ लाख बीमा रकम भुक्तानी गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक २०७८–७९ को गत साउन १ गतेदेखि असारसम्म बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट ज्यान गुमाउने मृतक परिवारका ३९ जना हक वालालाई रु ७८ लाख भुक्तानी गरेको हो । १७ लाख नागरिकलाई विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको छ।

५३ विपद् पीडित​मध्ये ३९ जनाले रकम प्राप्त गरिसकेका छन् भने १४ मृतक परिवारलाई दिन बाँकी छ र उनीहरूको पनि अब छिट्टै भुक्तानी हुँने प्रदेश सरकारले जनाएको छ । ३९ मृतकका सबै खुल्ने कागजात आइसकेकाले सम्बन्धित हक वालालाई भुक्तानी गरिएको र पाँच जनाको केही कागजात नपुगेको राष्ट्रिय बीमा कम्पनी कर्णाली प्रदेशका प्रमुख शिवराज बिसीले बताए । आठ जनाको भर्खरै आवश्यक कागजात प्राप्त भएकाले सबै प्रमाण हेरेर जतिसक्दो चाँडो भुक्तानी दिइने प्रदेश प्रमुख बिसीले प्रतिवद्धता जनाएका छन् ।